नेपाल र कोरियाबीच कृषिक्षेत्रमा सहकार्य, दुई देशबीच सम्झौता हुँदै



काठमाडौं । नेपाल र कोरियाबीच कृषि क्षेत्रमा सहकार्य गर्ने सम्बन्धि विषयमा द्विपक्षीय सम्झौता हुँदै छ । नेपाल र कोरियाबीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धि दुई देशका कृषि मन्त्रीबीच द्विपक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको छ।

कृषि मन्त्रालयका अनुसार विहीबार साँझ ५ बजे कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र कोरियाका कृषि खाद्य तथा ग्रामीण मामिलामन्त्री छङ ह्वाङ गुनबीच कृषि मन्त्रालयमै हस्ताक्षर हुने भएको छ ।

नेपालबाट कोरियामा कृषि क्षेत्रमा काम गर्न जाने कामदार बर्षेनी बढीरहेका छन् । नेपाली कामदारका लागि कोरिया आकर्षक रोजगारको गन्तव्य हो । दुई देशबीच भएको सम्झौताबाट नेपालले कोरियामा बर्षेनी कामदार पठाउँदै गएको छ ।

कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलव्ध गराएको छ । विगत ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले १५७ विकास परियोजना कार्यान्वयन गरेको छ ।

नयाँ सम्झौताले नेपालको कृषि विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने पनि कृषि विकास मन्त्रालयले जानकारी दिएको छ। यो वर्ष २० हजार नेपालीलाई कोरियाले काम गर्ने अवसर प्रदान गरेकाे छ ।


क्लिकमान्डु