गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै
स्याङ्जा । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका १४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ ।
बजार पाउन सकेमा तत्कालै झन्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउँछन् । ‘कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ,’ उनले भने । स्थानीय बजारमा दैनिक १०-१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए ।
पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् । उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा १५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले १० रोपनीमा तीन सय कागतीका बोट छन् ।
पौडेल आठ वर्षअघि विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमिएका हुन् । सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उनले बताए ।
विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो १३० देखि २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यो वर्ष १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ ।
अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिक रुपमा कागतीखेती गरेको उनले बताउँछन् । कागती भण्डारण गर्न शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । ‘भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ,’ उनले भने ।