पाँच वर्षमा साढे १० अर्बको छुर्पी निर्यात, अमेरिका जान्छ सबैभन्दा धेरै



काठमाडौं । गार्ईभैंसीको दुधबाट बनाइने छुर्पीको माग विदेशबाट उच्च परिमाणमा हुन थालेको छ । पाँच वर्षअघि वार्षिक १ अर्ब हाराहारीको छुर्पी निर्यात भएकोमा गत वर्ष करिब साढे ३ अर्ब रुपैयाँको निर्यात भएको हो । एसिया, अमेरिका र युरोपदेखि अफ्रिका महादेशसम्मका २५ भन्दा बढी देशले नेपाली छुर्पी लैजाने गरेका छन् ।

बितेका पाँच वर्षमा मात्रै नेपालबाट साढे १० अर्ब रुपैयाँको छुर्पी निर्यात भएको छ । आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख रुपैयाँबराबरको ६ लाख ३६ हजार किलो र आव २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख रुपैयाँबराबरको ७ लाख १७ हजार किलो छुर्पी निर्यात भएको छ ।

त्यसपछिका वर्षहरुमा छुर्पी निर्यात उच्च परिमाणमा बढेको छ । आव २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँबराबरको १२ लाख ६२ हजार किलो, आव २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाख रुपैयाँबराबरको १७ लाख ४४ हजार किलो र आव २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँबराबरको १७ लाख ८६ हजार किलो छुर्पी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

छुर्पी निर्यातको परिमाणसँगै व्यापारीले मूल्य पनि बढी नै पाउन थालेका छन् । पाँच वर्षको अवधिमा छुर्पीको मूल्य प्रतिकिलो २६३ रुपैयाँले बढेर १ हजार ६५४ रुपैयाँबाट १ हजार ९०८ रुपैयाँ पुगेको छ ।

आव २०७५/७६ प्रतिकिलो १ हजार ६५४ रुपैयाँ किलो निर्यात भएको छुर्पी अर्को वर्ष १ हजार ७१२ रुपैयाँ प्रतिकिलोका दरले निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा प्रतिकिलो १ हजार ५५५, आव २०७८/७९ मा प्रतिकिलो १ हजार ६६९ र २०७९/८० मा प्रतिकिलो १ हजार ९०८ रुपैयाँ पुगेको छ ।

अमेरिकामा धेरै निर्यात

नेपालबाट २९ देशमा छुर्पी निर्यात हुने गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै माग अमेरिकामा छ । विभागले आव २०७५/७६ मा देशअनुसार तथ्यांक सार्वजनिक गरेको छैन । त्यसपछिका चार वर्षको अवधिमा अमेरिकामा मात्रै ८ अर्ब १७ करोड ३१ लाखको छुर्पी गएको छ, जबकि चार वर्षमा नेपालबाट ९ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको छुर्पी विभिन्न देशमा निर्यात भएको छ ।

आव २०७६/७७ मा १५ देशमा छुर्पी निर्यात भएकोमा अमेरिकामा मात्रै १ अर्ब ५ करोड ९१ लाख रुपैयाँको निर्यात भएको छ । त्यस्तै २०७७/७८ मा १ अर्ब ७० करोड १३ लाख, आव २०७८/७९ मा २ अर्ब ४४ करोड ५० लाख र गत वर्ष २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको छुर्पी अमेरिका निर्यात भएको छ ।

कुन-कुन देशमा जान्छ ?

नेपालबाट सुरुवाती वर्षहरुमा ५-७ देशमा मात्र छुर्पी निर्यात हुँदै आएकोमा अहिले २९ देशमा निर्यात हुने गरेको छ । नेपालबाट अमेरिकासहित ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्यान्ड्स, फिलिपिन्स र पोल्यान्डमा छुर्पी निर्यात हुन्छ ।

त्यसबाहेक पोर्चुगल, कतार, सेन्ट हेलेन, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, यूएई, बेलायत र भियतनाममा पनि छुर्पी निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । नेपालबाट निर्यात हुने छुर्पी कुकुर तथा बिरालाको खानेकुराका रुपमा प्रयोग हुन्छ ।


क्लिकमान्डु