२०८४ मा सबै पुराना राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दललाई पराजित गर्ने बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले नयाँ दलका रुपमा २१ जना सांसद सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलले जनताका लागि काम नगरेको बताए । उनले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई ‘जे गर्नसक्छौ गर’ भन्ने चुनौती दिएको बताए ।

‘आउने चुनावमा कुनै दललाई एक सिट पनि जित्न दिँदैनौं,’ उनले भने, ‘हाम्रो आँखैअगाडि नयाँ दलका रुपमा २१ जना सांसद सदनमा आएका छन् । स्थानीय तहमा एक से एक होनहार मानिस आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौती दिए ठाडै । हेर्दा हेर्दै । यस्त कयौँ बेथितिका चुनौती दिएका छन् ।’

उनले अगाडि भने, ‘भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईंहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला ।’

‘एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ? नेपालीको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरुलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन्,’ उनले भने ।

सभापति लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको आरोप लगाए ।


क्लिकमान्डु