भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ: कृषिमन्त्री



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले चामल अभाव हुन नदिन ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन् । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उनले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै १ लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताएका हुन् ।

‘भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । ६ लाख मेट्रिक टन धान उत्पादन गरौँ,’ उनले भने, ‘सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन ।’ बगेको पानीको सही व्यवस्थापन गरेर कृषिमा प्रयोग गर्न सके सिँचाइको समस्या नहुने उनले बताए ।

‘उन्नत बीउको प्रयोग गर्ने र सिँचाइको व्यवस्था गरेमा सन् २०३५ सम्ममा हामी खाद्यमा आत्मनिर्भर हुन सक्छौँ,’ मन्त्री भुसालले भने, ‘पूर्व-पश्चिम नहर निर्माण गरेर मात्र कृषि क्रान्ति हुन्छ ।’

कार्यक्रममा मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले साना किसानले उत्पादन गरेको वस्तुलाई उद्योगका रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले किसानको सङ्ख्या बढेको तर जमिन घटेकाले कृषि उत्पादनमा कमी आएको भन्दै यसले कृषि क्षेत्रमा ठूलो चुनौती देखिएको तर्क गरे ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले वर्षात्को पानी सङ्कलन गरी सिँचाइ गर्नुपर्ने बताए । उनले छानाको पानी सङ्कलनदेखि रिचार्ज पोखरी निर्माणविधि अपनाएर पानीको संरक्षण गर्न सकिने धारणा राखे ।


क्लिकमान्डु