अर्थतन्त्र संकटग्रस्त छैन, हामीले बनाउन नसके पनि बिगारेका छैनौंः उद्योगमन्त्री
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बढ्दो बैंक ब्याजका कारण निजी क्षेत्रलाई लगानीमा समस्या भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा उनले भने, ‘यसका लागि राष्ट्र बैंकसँग सबै मिलेर कुरा गर्नुपर्ने बेला आएको छ ।’ कार्य्रकममा उपस्थित राष्ट्र बैंकका अधिकारीलाई उनले ब्याज घटाउन आग्रह गरे ।
देश बनाउनका लागि कसैले पनि राजनीति गर्न नहुने उनले बताए । राजनीतिक पूर्वाग्रह राख्दा देश नबन्ने उनको धारणा छ । मन्त्री रिजालले सरकारले अर्थतन्त्र उँभो लगाउन नसके पनि उँधो चाहिँ लागि नहालेको तर्क गरे ।
उद्योगीका लागि लगानीमैत्री वातावरण बनाउन सके देश बन्ने मन्त्री रिजालले बताए । निजी क्षेत्र खराब हुन् भन्ने भाष्य निर्माण भएकाले त्यस्तो सोच हटाउनुपर्ने उनको भनाइ छ । निजी क्षेत्रलाई लगानीमैत्री बनाउन आवश्यक कानुन सुधार गर्न आवश्यक रहेको उनले बताए । ‘नेपालमा गरेको लगानी पछि फिर्ता लैजान सक्ने कानुन नहुँदा पनि समस्या भएको छ,’ उनले भने ।