३२५ अर्ब राजस्व वक्यौता असुल गरेको प्रगति विवरण तत्काल उपलब्ध गराऊ: लेखा समिति



काठमाडौं । सार्वजनिक लेखा समितिले सरकारलाई महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औंल्याएको ३२५ अर्ब राजस्वको वक्यौता असुलउपरको प्रगति विवरण तत्काल पेस गर्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बुधबार सभापति ऋषिकेश पोखरेलले मुख्य सचिवको कार्यालयलाई मुलुकको समग्र अर्थतन्त्रका समस्या समाधान गर्न भएका प्रयास, राजस्व संकलन, राजस्व वक्यौता असुलउपरलगायतका विषयमा गरिएका पहल सम्बन्धमा लिखित प्रतिवेदन माग गरेका हुन् ।

सरकारले राजस्व चुहावट रोक्ने प्रयास गरे पनि नरोकिएको भन्दै उनले राजस्वसम्बन्धी लक्ष्यहरु व्यावहारिक छैनन् कि, लक्ष्य प्राप्त गर्न सरकारले काम नगरेको हो ? भन्दै प्रश्न गरेका थिए । राजस्व र खर्चको अनुमान गर्दा सरकारले मध्यकालीन संरचनाको खाकाअनुसार स्रोत प्रस्ताव गर्नुपर्ने भए पनि त्यसअनुसार स्रोत व्यवस्थापन र प्राप्ति नभएको तथा लक्ष्यअनुसार राजस्व प्राप्त गर्न के-कति प्रयास भएका छन् भन्नेबारे जवाफ माग गरे ।

उनले चालु आर्थिक वर्षको रावस्व संकलन लक्ष्य पूरा हुन्छ कि हुँदैन र पूरा गर्ने आधार के-के हुन् भन्दै  कार्ययोजना र प्रतिबद्धता नभए जवाफदेहिता कसले लिने भन्दै प्रश्न गरे । सरकारले राजस्व प्राप्त गर्ने के-कस्तो कार्ययोजना तयार गरेको छ र राजस्व वक्यौताको असुली गर्न नसक्नुको कारण के हो त्यसबारेमा पनि समितिलाई लिखित जानकारी गराउन उनले निर्देशन दिए ।

उनले हरेक आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च घट्दो र साधारण खर्च बढ्दो भएकाले स्वस्थ अर्थतन्त्र व्यवस्थाको संकेत नगरेको बताए । उनले सरकारलाई समितिले गरेका हरेक प्रश्नको जवाफ मौखिक रुपमा नभई लिखित र प्रमाणित प्रतिवेदन समितिको सचिवालयमा दर्ता गर्न निर्देशन दिए ।


क्लिकमान्डु