दुई मुख्य सडकखण्ड मर्मतसम्भार गर्दै सरकार



सांकेतिक तस्बिर

काठमाडौं । दसैंको मुखमा सरकाले दुई प्रमुख सडकखण्ड मर्मतसम्भार गर्ने भएको छ । यातायात व्यवस्था विभागको महानिर्देशक उद्धवप्रसाद रिजालको अध्यक्षतामा सरोकारवाला निकायको बसेको बैठकले ती दुई सडक मर्मतसम्भार गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार पूर्व-पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडकखण्ड तथा पोखरा-मुग्लिङ सडकखण्डअन्तर्गत कोत्रेबाट २१ किलोमिटर काठमाडौंतर्फको मर्मत सम्भार गरिने भएको छ ।

यसैगरी यातायात अवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने वाहेकका ट्रेलरलगायतका ठूला सबारी साधनलाई असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म उपत्यका प्रवेश गर्न रोक लगाउने निर्णय भएको छ । यसअघि असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको थियो ।

यात्रुवाहक सबारी साधनलाई असोज २६ गतेदेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गर्ने सरकारले निर्णय गरेको छ । यसअघि घटस्थापनादेखि पूर्णिमासम्म उक्त परमिट खुला गर्ने  निर्णय भएको थियो । तर कुनै बाटोको विशेष प्रकृतिका कारण उक्त बाटोमा चल्न निषेध गरिएका आकारका सार्वजनिक सबारीहरुको हकमा भने उक्त बन्देज कायमै रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु