रैथाने वस्तुहरुको उत्पादन गर्ने कलकलका सामान आफ्नै आउटलेटबाट बिक्री सुरु
भक्तपुर । कलकल ग्रुप प्रालिले कटुञ्जेथिस्त आफ्नै संस्थाको हातामा शनिबारदेखि आउटलेट सञ्चालनमा ल्याएको छ । यसै आउटलेटबाट अब संस्थाका उत्पादनहरु बेचबिखन गरिने कम्पनीले जनाएको छ ।
कलकल ग्रुप प्रालिले शुद्ध तोरीको तेल, मीठे फापरको पीठो, मुसुरोको दाल, क्वाँटी, मकैको च्याँख्ला, जुम्लाको सिमीको दाल, भुटेको मकै, लोकल आलुचिप्स, खसर, जिम्बु, चना, टिमुरजस्ता रैथाने खाद्य वस्तुहरु उत्पादन र बिक्री गर्दै आएको छ ।
पाँच वर्षदेखि सञ्चालनमा रहेको उद्योगले अहिलेसम्म कटुञ्जेस्थित उद्योगभित्रैबाट ग्राहकलाई सेवा दिँदै आएको थियो । शनिबार आउटलेट उद्घाटन गर्दै कलकल ग्रुपका अध्यक्ष रविराज कार्कीले नेपाली सेनाका र बिगमार्टका ७० वटा शाखाबाट कलकलका सामान बेचबिखन भइरहेको जानकारी दिए ।
साथै भाटभटेनीमा पनि आफ्ना उत्पादन राख्ने पहल र प्रयास भइरहेको उनले बताए ।
यस्तै, आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिँदै जानेसमेत अध्यक्ष कार्कीले जानकारी दिए ।
उद्योगभित्र तेल उत्पादन गर्ने अर्को मेशिन तत्काल थप्न लागेको समेत कार्कीले बताए । यसैगरी संस्थामा शेयर सदस्यहरु थप्ने क्रम पनि जारी रहेको उनले बताए ।
साथै, शेयर सदस्यहरुको सुविधाका लागि आवश्यक खाद्य सामग्री उनीहरुका घर–घरमै निःशुल्क रुपमा पुर्याइदिँदै आएकोसमेत उनले जानकारी दिए ।
संस्थाकी संस्थापक अध्यक्ष सरिता शर्माले उद्योग हातमा आउटलेट सञ्चानलमा आएसँगै ग्राहकलाई सेवा दिन निकै सजिलो भएको बताइन् ।
उद्योगभित्रैबाट उत्पादन र बेचबिखन दुवै कार्य गर्दा कर्मचारीलाई समस्या हुँदै आएको भए पनि अब आउटलेट सञ्चालनमा आएसँगै संस्थाका कर्मचारी र ग्राहक सबैलाई सहज भएको शर्माले उल्लेख गरिन् ।
स्वदेशमै केही गर्न सकिन्छ कि भनेर आफूहरुले पाँच वर्षदेखि कलकलमा भगीरथ प्रयत्न गर्दै आएको बताउँदै संस्थापक अध्यक्ष शर्माले नैतिकताको आधारमा मात्र आफूहरुले उद्योगलाई व्यावसायीकरण रुप दिँदै आएको स्पष्ट पारिन् ।
ग्राहकको शारीरिक र मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी खाद्य सामग्री उत्पादन र वितरण कार्य गर्दै आएको संस्थापक अध्यक्ष शर्माले प्रकाश पारिन् । आयात घटाएर निर्यात बढाउँदै देशको व्यापार घाटा कम गर्न कलकलजस्ता उद्योगहरु प्रशस्त खुल्नुपर्नेमा समेत संस्थापक अध्यक्ष शर्माले जोड दिइन् ।
यस्तै, कलकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत समिरनारायण श्रेष्ठले दश प्रतिशत छुटमा १२ किसिमका खाद्य सामग्री समेटेर आकर्षक झोलामा उद्योगले ग्राहकहरुलाई सामान उपलब्ध गराउन थालेको जानकारी दिए ।
२५ सय रुपैयाँमा शुद्ध तोरीको तेल, मीठे फापरको पिठो, मुसुरोको दाल, क्वाँटी, मकैको च्याँख्ला, जुम्लाको सिमीको दाल, भुटेको मकै, लोकल आलु चिप्स, सखर, लोकल जिम्बु, लोकल चना र टिमुरलगायतका सामान उपलब्ध गराउन थालेको श्रेष्ठले बताए ।
दश प्रतिशत छुटमा आकर्षक झोलामा सामान राखेर दिँदा ग्राहकलाई आलसको तेल भने निःशुल्क दिन थालिएको समेत श्रेष्ठले बताए ।
कलकल ग्रुप प्रालिले विगत पाँच वर्षदेखि मिसावटरहित रैथाने घरेलु खाद्य सामग्री उत्पादन र बेचबिखन गर्दै आएको छ । अर्गानिक सामान भएकैले कलकल ग्रुपबाट उत्पादित खाद्यवस्तुको माग पछिल्लो समयमा ग्राहकको रोजाइमा पर्दै गएको छ ।