कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका कार्कीले असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि कार्कीले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेकपा एमाले संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिबद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गरे ।

उनले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधिमा जाने निश्चित रहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता हुन आवश्यक रहेको बताए ।

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ छ । मुख्यमन्त्री कार्कीले भदौ २२ गते पद तथा गोयनीयताको शपथ लिएका थिए ।

कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा एमालेका उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।


क्लिकमान्डु