‘सेयर लगानीकर्तालाई गभर्नर अधिकारीले अन्याय गरे’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर लगानीकर्तालाई अन्याय गरेका एक सञ्चालकले आरोप लगाएका छन् ।

राज्यलाई १४ अर्ब रुपैयाँसम्म राजस्व तिरेको क्षेत्रलाई गभर्नर अधिकारीले अन्याय गरेका कारण पुँजीगत लाभकर ३ अर्बमा खुम्चिएको ती सञ्चालकको आरोप छ ।

‘सेयर बजारमा लगानी गर्नेलाई गभर्नरले अन्याय गर्नुभयो’ नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले भने, ‘गभर्नर अधिकारीले सेयर बजारमा लगानी नै गर्न नहुने र लगानी गरेकालाई पनि निरुत्साहन मात्रै गरिरहनुभएको छ । सेयर बजार ३२ सय अंकनजिक पुगेका बेला राष्ट्र बैंकले ४-१२ को नीति ल्याएर बजारलाई घटाउने काम गर्‍यो, जुन आवश्यक नै थिएन ।’

उनले थपे, ‘१४ अर्ब कर तिर्ने सेयर बजार अहिले लगानीकर्ता निरुत्साहित भएकै कारण ३ अर्ब रुपैयाँ पनि तिर्न नसक्ने अवस्थामा पुगेको छ ।’

सेयर बजारमा कर्जा लगानीको सीमा हटाउनुपर्ने पटक-पटकको आफ्नो प्रस्तावलाई अधिकारीले बेवास्ता गरेको तथा राष्ट्र बैंक सञ्चालक समितिमा एउटा प्रस्ताव आउने र सर्कुलर जारी गर्दा अर्को आउने गरेको उनको भनाइ छ ।

यसले गर्दा लगानीकर्ताको मनोबल खस्केको भन्दै उनले सेयर बजारको विषयमा निर्णय गर्ने अधिकार धितोपत्र बोर्डलाई दिन उपयुक्त हुने तर्क गरे ।


क्लिकमान्डु