सोमबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ
काठमाडौं । चाडवाड लक्षित लामो दूरीको सार्वजनिक यातायातका लागि सरकारले सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय गरेको छ ।
भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित यातायात व्यवस्था विभागमा सरोकारवाला निकायसहित भएको छलफलमा सोमबार (असोज २२ गते) देखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारी निकाय र यातायात व्यवसायीबीच सहमति भएअनुसार सोमबारदेखि घर जाने यात्रुका लागि अग्रिम टिकट खुल्नेछ ।
यातायात व्यवसायीले चाडवाडको मुखमा सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरिदिनुपर्ने अडान राखेका थिए । तर, सरकारले तत्कालका लागि भाडादर समायोजन गर्न नसक्ने बताएपछि पुरानै भाडादर कायम हुने गरी अग्रिम टिकट काट्ने सुविधा खुल्ने भएको हो । यो सहमतिपछि सोमबारदेखि यात्रुले नयाँ बसपार्कसहित कोटेश्वर, गौशाला र कलंकीबाट लामो दूरीका लागि अग्रिम टिकट काट्न पाउनेछन् ।
सिटौलाका अनुसार सोमबारदेखि नै बससेवा डटकमबाट पनि अनलाइन अग्रिम टिकट काट्ने पाइनेछ । छलफलमा सहभागी भएको सडक विभागले दसैंअघि भत्केको सडकको मर्मत सम्भार गर्ने सहमति जनाएको थियो भने बसको रुट निर्धारण र सुरक्षाको बिषयमा पनि छलफल भएको सिटौलाले जानकारी दिए ।
चाडवाडको समयमा घटस्थापनादेखि अष्टमीसम्म उपत्यकाबाट दैनिक करिब साढे ५ हजारको संख्यामा ठूला साना सवारी साधन बाहिरिने गरेका छन् । यसबेला करिब २० देखि २२ लाख सर्वसाधारण चाडवाड बनाउन गृह जिल्ला फर्कने गरेको विभागले जनाएको छ ।