महँगीबारे संसद्‍मा कविता वाचन, गोलभेँडाले के किन्लास् र तैले भनेर आँखा तर्छ !



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले महँगीबारे प्रतिनिधि सभामा कवितामार्फत सरकारलाई प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद पन्तले बजार भाउ महँगो हुँदा खल्तीमा बोकेको तलबले नपुग्ने र बजार भाउ सुन्दा होस गुम्ने अवस्था रहेको बताए ।

दसैं लगायतका चाडबाड नजिकिँदा बजार भाउ उच्च भएको भन्दै उनले यसपटक गरिबको दसैं कसरी टर्छ भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ सांसद पन्तको कविता

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होस् हवास् ।।

तरकारीले भाउ नै नसोध् झै गर्छ
गोलभेँडाले के किन्लास् र तैले भनेर आँखा तर्छ
दसैं पेस्की आउने कहिले कहिले
पेस्कीमा महँगी आयो
सरकारका घर त उज्यालो होलान्
नहुनेको घरमा अहिले नै अध्यारो छायो

आउन लागेको दसैं सम्झेर
जनता मुर्छा पर्छ !
सरकार गरिबको दसैं कसरी टर्छ ?
मेरो प्रश्न छ सरकार
गरिबको दसैं यसपटक कसरी टर्छ ?


क्लिकमान्डु