हामीले साना तर महत्वपूर्ण कामहरु गरेका छौं: सुदन किराती
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जिम्मेवारी सम्हालेको ८ महिनामा आफूहरुले साना तर महत्वपूर्ण कामहरु गरेको दाबी गरेका छन् ।
शुक्रबार एक खुला चिट्ठी सार्वजनिक गर्दै मन्त्री किरातीले अहिले आफूहरुले राजनीतिक बाचामा अविचल रही हजार चुनौति सामना गरिरहेको उल्लेख गरेका छन् ।
सरकारले मध्यम स्तरको सुधारमा जोड गरिरहेको भन्दै उनले दिनरातको मेहनत र जनताको साथ र समर्थनले सफल हुने विश्वास व्यत गरेका छन् ।
जीनमा तीन किसिमको परिस्थिति हुने भन्दै उनले पत्रमा लेखेका छन्, ‘वास्तवमा मानिसको जीवन ऊ बाँचेको परिस्थितिले तीन किसिमले निर्धारण गर्दो रहेछ- व्यस्त, मस्त र अस्तव्यस्त । स्वभाविक रुपमा समग्र परिस्थितिले लयबद्ध रुपमा व्यस्त हुन पाएको छैन । हामीलाई मस्त हुने सुविधा त विल्कुल छैन । तुलनात्मक रुपमा हामी अस्तव्यस्तताका बिचबाट अघि बढनुपर्ने स्थितिमा छौं।’
अव्यवस्थित गोरेटोबाट व्यवस्थित मूल बाटोतिर अघि बढ्न प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार अगाडि बढिरहेको उनको दाबी छ । आगामी दिनमा सकेसम्म व्यवस्थित गर्दै जाने बाचा गर्दै उनले अनजानमा गल्ती भएको खण्डमा क्षमा दिन भनेका छन्।