सांसद पौडेलको प्रश्न: रिगललाई आममाफी दिने कागजमा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन ?
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिनेकुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गरेकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले राष्ट्रपति मन्त्रिपरिषद्को औठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताइन् ।
‘राष्ट्रपतिले कसरी सक्नुभयो । यस्तो जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपति ज्युको हात काम्योकी कामेन ? मेरो प्रश्न राष्ट्रपतिलाई । राष्ट्रपति संविधानको संरक्षक हो । मन्त्रीपरिषद्को औँठाछाप होइन । मन्त्रीपरिषद्को औँठाछाप भन्छौ भने राष्ट्रपति कार्यालय हामीलाई किन चाहियो । नागरिकको तर्फबाट मेरो प्रश्न ?’ उनले भनिन् ।
मन्त्रिपरिषद्को औँठाछापका रुपमा राष्ट्रपति कार्यालय लिने भए राष्ट्रपति कार्यालय आवश्यक नभएको उनको भनाइ थियो । २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारालाई नेपाल सरकारले आम माफी दिनु गलत भएको उनले बताइन् ।
उनले २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारालाई के आधारमा सरकारले आममाफी दियो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् ।
पौडेलले नियन्त्रणमा लिएर हत्या गर्नु जघन्य अपराध भएको भन्दै अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा आममाफी दिन सिफारिस गर्यो संदनमा आएर गृहमन्त्रीले जवाफ दिन माग गरे ।
उनले हत्यारा छुट्नको लागि कुनै दलको नेता,गृहमन्त्रीको आफन्त वा राष्ट्रपतिको ज्वाईंचेल हुनुपर्ने हो ? भन्दै सरकारसँग जवाफ माग गरिन् । उनले आममाफी लिने निर्णय गर्दा पीडितको अनुमति बेगर मान्छेलाई छाड्न नमिल्ने बताइन् ।
उनले कानून र संविधानले दिने भन्ने भए संसदमा कानून ल्याए संशोधन गर्न तयार रहेको बताइन् । कानुन र संविधानलाई टेकेर मनपरी गर्नको लागि गृह वा प्रधानमन्त्री कसैलाई पनि छुट नभएको उनको भनाइ छ ।