एमसिसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको छ: प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् ।

नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री दाहालले सबैलाई बधाई तथा शुभकामना दिंदै भने, ‘‘परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एसियासँग जोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको छु । नेपालको विकासमा निरन्तर सहयोग र साथ उपलब्ध गराउँदै आएकोमा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्दछु ।’’

प्रधानमन्त्री दाहाल तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस पी. अल्ब्राइट नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरोन अल्फोर्डले एक पत्र आदानप्रदान गर्दै गत भदौ १३ गते उक्त पाँच वर्षे कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश गरेको घोषणा गरेका थिए । कार्यान्वयन चरणमा प्रवेशसम्बन्धी घोषणाले पाँच वर्षको समयसीमाभित्र कम्प्याक्ट अन्तर्गतका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुने सुनिश्चित गर्नका लागि आवश्यक तयारी पूरा भएको जनाउने भएकोले एमसीसी कम्प्याक्टका सन्दर्भमा यसलाई महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइन्छ ।

“नेपालको विकासमा सघाउ पु¥याउने आयोजनाहरू सहितको एमसीसी नेपाल कम्प्याक्टले राम्रा सडक र थप भरपर्दाे विद्युत् उपलब्ध गराएर नेपाली जनतालाई लाभान्वित गर्नेछ,” सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उल्लेख गरे ।

डा. महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको भन्दै एमसीसी आयोजनामार्फत् विद्युत आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुने बताए । विशेषतः विद्युत व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरु बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरुले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

एमसीसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठूलो योगदान रहने मन्त्री डा. महतले स्पष्ट पारे ।

अहिले ठेक्का लगाउने प्रक्रिया अगाडि बढेको छ र यसमा केही समस्या आएको छ भन्दै उनले भने, ‘एमसीएले जुन लागत अनुमान गरेको थियो, त्योभन्दा बढी मूल्यमा ठेक्का प्रस्ताव गरेका छन् । यसले केही समस्या सिर्जना गरेको छ । तर एमसीए नेपालले यसलाई छिटै समाधान गर्न भन्ने मलाई विश्वास छ ।’

‘सबैभन्दा ठूलो जिम्मेवार एमसीए हो । एमसीए म्यानेजमेन्ट टिममा विज्ञलगायत आवश्यक जनशक्तिको व्यवस्था गरिएको छ । त्यसपछि सरकारको तर्फबाट अर्थमन्त्रालयले अगाडि बढाउँदैछ । एमसीसी आयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्छ,’ डा. महतले भने , ‘चार वर्ष ११ महिनाको केही दिन गइसकेको छ । त्यो बीचमा यसलाई सम्पन्न गर्नुपर्ने चुनौति छ ।’

“नेपालका लागि महत्वपूर्ण आर्थिक उपलब्धि हासिल गर्नका लागि यस कार्यक्रमसम्बन्धी लक्ष्य निर्धारण गर्ने सन्दर्भमा हामीले नेपाल सरकारसँग सहकार्य गरेका थियौँ,” एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी. अल्ब्राइटले उक्त अवसरमा भनिन्, “निश्चित चुनौतीहरू सामना गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि हामी प्रतिबद्ध साझेदारका रूपमा उभिन हामी तयार छौँ र यससन्दर्भमा नेपाल सरकारको नेतृत्व र यस कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निकाय एमसिए–नेपालप्रति पूर्ण विश्वस्त छौँ । यस कार्यक्रमबाट नेपाली जनताको जीवनमा पर्ने सकारात्मक प्रभाव हेर्न म निकै आतुर छु ।”

एमसीसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासका लागि सहयोग पु¥याउने अर्को एउटा महत्वपूर्ण अमेरिकी पहल भएको र नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो सम्बन्धमा एउटा महत्वपूर्ण कोशेढुङ्गा पनि भएको नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले कार्यक्रममा भने ।

आफ्नो तीन दिने नेपाल भ्रमणका क्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले कम्प्याक्ट कार्यान्वयनसँग सम्बद्ध नेपाल सरकारका उच्च अधिकृतहरू एवं विभिन्न सरोकारवालासँग भेट्नुका साथै जलवायु संरक्षणको महत्वमाथि जोड दिन वृक्षरोपण कार्यक्रममा सहभागी भइन् भने मर्मतका लागि सजिलो र वातावरणका लागि राम्रो सुरक्षित यातायात सञ्जाल निर्माण गर्नका लागि जलवायुमत्रै एवं दिगो प्रविधि प्रयोग गर्नेसन्दर्भमा सडक विभागका प्रशिक्षार्थी इञ्जिनियरहरूबाट भइरहेको कार्यको पनि निरीक्षण गरिन् ।

उनले नागरिक समाजका विभिन्न सदस्यहरू तथा युवा उद्यमीहरूसँग अन्तरक्रिया गर्नुका साथै जलविद्युत् उत्पादनमा संलग्न महिला उद्यमीहरूसँग अनुभव आदानप्रदान गर्दै नेपालको आर्थिक विकासमा कम्प्याक्टले गर्ने योगदानमाथि प्रकाश पारेकि थिइन् ।

नेपाल सरकार तथा एमसीसीबीच नेपालमा विद्युत् आपूर्तिको विश्वसनियतामा वृद्धि गर्ने विद्युत् प्रसारण आयोजना र यातायातको लागत घटाउने सडक मर्मत आयोजनाका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो ।


क्लिकमान्डु