राजस्व संकलन उत्साहजनक छैन, लक्ष्यअनुसार नउठ्दा सरकार अप्ठ्यारोमा: राजस्व सचिव



काठमाडौं । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजस्व संकलन भएको बताए ।

उनले सरकारको चालु आर्थिक वर्षको चालु खर्च १ खर्ब ४२ अर्ब ६३ करोड, पुँजीगत खर्च १० अर्ब ८३ करोड र वित्तिय व्यवस्था ३७ अर्ब ४२ करोड रहेको जानकारी दिए ।

चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ ४७.४ प्रतिशतले खर्च वृद्धि भएको उनले बताए ।

सरकारले कुल खर्च १ खर्ब ९० अर्ब ८८ करोड रहेको उनको भनाइ छ । आर्थिक वर्षमा आन्तरिक ऋणतर्फ ७७ अर्बं १३ करोड र वाह्य ऋणतर्फ ४ अर्ब ९७ गरी जम्मा ६९ अर्ब १८ करोड सार्वजनिक ऋण परिचालन भएको उनले बताए ।

चालु आर्थिक वर्ष २०८०/०८१ को भाद्र महिनासम्म १० अर्ब ६३ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको बताउँदै उनले आर्थिक वर्षको भाद्रसम्म उद्योगबाट १४ अर्ब ६५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको जानकारी दिए ।

२०८० भाद्र मसान्तसम्म उद्योग विभागबाट ४ खर्ब ६४ अर्ब ६२ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको उल्लेख गरे ।

लगानी बोर्डबाट ४२ परियोजनाको लागि १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत भएको उनले सांसदहरुलाई जानकारी दिए।

सुवेदीले चालु आर्थिक वर्षको साउन महिनामा २ अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी भित्रिएको उल्लेख गरे ।

गत आर्थिक वर्षको साउन महिनामा यस्तो लगानी ४१ करोड मात्रै रहेको उनको भनाइ छ ।

सन् २०२३ को अगष्टसम्म आठ महिनाको अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या सन् २०२२ को साही अवधिको तुलनामा ८४ प्रतिशतले वृद्धि भई ६ लाख १ हजार ३ सय ६० पुगेको उनले जानकारी दिए ।

पुँजीबजार र बैंकको ब्याजदरलाई प्रतिस्पर्धामा नै छाड्ने अर्थमन्त्रालयको नीति रहेको उनको भनाइ छ । अर्थमन्त्रालयले आफ्नो नीतिबाट बाहिर जाने काम नगरेको सुवेदीले बताए ।

व्यापार चक्र अनुसार यी विषयहरु तलमाथि हुने भन्दै व्यापार चक्रलाई मूल्यवृद्धिले असर गर्ने उनको भनाइ थियो ।

सरकारको दायित्व वित्तीय प्रणाली असन्तुलित भएर घरासायी हुनबाट जोगाउनुपर्ने भएकाले सन्तुलित नीति लिएको उनको दाबी छ ।

पुँजीबजारमा बाहिर भनेको जस्तो ठूलो समस्या नभएको उनले बताए ।

राजस्व संकलन उत्साहजनक छैन

बैठकमा अर्थमन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरेले राजस्व संकलन उत्साहजनक रुपमा नभएको स्वीकार गरे ।

सरकारले नीतिगत सुधार गर्न खोजेको र नीतिहरु कार्यान्वयन भएर परिणाम आउन समय लाग्ने उनको भनाइ छ । अहिले भइरहेको राजस्व नीतिअनुसार राजस्व संकलन नभए सरकार अप्ठ्यारोमा पर्ने उनले बताए ।

सरकारले बजेट मार्फत आर्थिक ऐनमा सुधारका कुराहरु ल्याएको उनले बताए ।

राजस्वको संकलनको मुख्य स्रोत पेट्रोलिय पदार्थ र दूरसञ्चार शुल्क क्रमश घट्दै गएकाले बढाउन सक्ने अवस्था नभएको उनको भनाइ छ । सरकार राजस्व उठाउने भन्दा पनि सहुलियत दिने कुरामा लागेको उनको भनाइ छ ।

अर्थतन्त्रका समस्या पहिचान नगरी समस्या समाधान नहुने भन्दै उनले सरकारले समस्याको पहिचान गर्न खोजिरहेको बताए । अर्थतन्त्र मन्दिकै अवस्थामा नपुगेको उनको भनाइ थियो ।


क्लिकमान्डु