विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ: अर्थमन्त्री
काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन्। चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’
अर्थतन्त्रले विस्तारै लय लिइरहेको उनको भनाइ छ । ‘समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भने, ‘यसलाई विस्तार सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ ।’
राज्यले गर्नुपर्ने विकास खर्च धेरै नभएको भन्दै उनले चालू खर्च बढी रहेको बताए । ऋणको दायित्व बढी भएको र खर्च गर्ने क्षमता बढाइरहेको उनको भनाइ छ ।
‘यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भने, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’
उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गरे । ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो । त्यसको प्रयोग भइरहेको छैन । नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो’ उनले भने ।
उनले विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनु पर्ने बताए ।
अहिले नकरात्मक माहोल धेरै भएको र नकरात्मक कुरा सामाजिक सञ्जालमार्फत् संसारभरि छिटो फैलिने बताए ।
‘गालीका भाषा बिक्छन् । सकरात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरु काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरु सामाजिक सञ्जालको आक्रमणको केन्द्रविन्द्रमा पर्छन्’ महतले भने ।