जाँचबुझ आयोगले बुझायो आन्तरिक उडानमा भएको सबैभन्दा ठूलो दुर्घटनाको प्रतिवेदन



काठमाडौं । आन्तरिक उडानमा गत माघ १ गते भएको सबैभन्दा ठूलो दुर्घटनाको छानबिनसम्बन्धी प्रतिवेदन दुर्घटना जाँचबुझ आयोगले सरकारलाई बुझाएको छ ।

२०७९ माघ १ गते काठमाडौंबाट पोखरा उडेको यति एयरको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनाको जाँचबुझ गर्न सरकारले पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

आयोगले ८ महिना लगाएर तयार पारेको प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको हो ।

प्रतिवदेनमा यतिको ९एन एएनसी एटीआर जहाज दुर्घटनाको कारण पहिचान गरिएको छ । प्रतिवेदनले आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने उपायबारे सुझाव समावेश रहेको मन्त्रालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार कुन निकायले के काम गर्न आवश्यक छ भन्नेबारे मस्यौदामा उल्लेख भएको छ ।

मन्त्रालयले मस्यौदा प्रतिवेदन प्रतिक्रियाका लागि अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक र निकायमा पठाउनेछ । प्रतिक्रिया प्राप्त भएपछि प्रतिवेदन सार्वजनिक गरिने जानकारी पनि दिएको छ ।

उक्त विमान दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रुको ज्यान गएको थियो । यो दुर्घटना आन्तरिक उडानमा अहिलेसम्मको ठूलो हो ।


रवि धिताल