असोज १५ देखि कम्पनी दर्ताको सम्पूर्ण काम अनलाइनबाटै



काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा घोषणा भएको तीन महिनापछि असोज १५ बाट कम्पनी दर्ताका सम्पूर्ण काम अनलाइनबाटै हुने भएको छ ।

कम्पनी रजिष्टारको कार्यालयका सूचना अधिकारी शेखर बाबु कार्कीका अनुसार हाल निर्माण भइरहेको सफट्वेयर असोज १५ सम्ममा तयार हुने भएकाले सो दिनबाट अनलाइनबाटै कम्पनी दर्ता गर्ने प्रक्रियालाई सुरु गरिनेछ ।

सरकारले चालु आवको बजेट तथा विगतमा पनि कम्पनी दर्ता तथा खारेजीको काम अनलाइनबाटै हुने गरी सहज बनाउने घोषणा गरेको थियो । तर, सफ्टवेयर तयार नहुँदा सो काममा ढिलाइ भइरहेको थियो । असोज १५ बाट भने अनलाइनबाट कम्पनी दर्ताको काम सुरु हुने कार्कीले बताए ।

‘हाललाई कम्पनी दर्ताको काम अनलाइनबाट सुरु हुनेछ,’ उनले भने, ‘अहिलेलाई सफट्वेयर अनलाइन दर्ताका लागि काम गर्न मिल्ने गरी तयार हुने भनिएको छ । असोज १५ बाट दर्ता गर्ने काम अनलाइनबाट सुरु हुन्छ ।’

हाल कम्पनी रजिष्टार कार्यालयमा १५ वर्ष पुरानो सफ्टवेयर सञ्चालनमा छ । असोज १५ बाट भने हाल निर्माणाधीन सफ्टवेयरलाई सुरु गरिने कार्कीले बताए । उनले भने, ‘हामीले सफ्टवेयर बनाइरहेको कम्पनीलाई पनि यो कुरा भनेका छौं । खारेजी र अन्य प्रक्रियाका लागि भने पुरानो सफ्टवेयरको डाटा माइग्रेट गर्न समय लाग्ने भएकाले केही समयपछि सुरु हुन्छ ।’

कम्पनी राजिस्टारको कार्यालयले हाल अनलाइनमाध्यमबाटै कम्पनीको दर्ता, खारेजीलगायतका अन्य सम्पूर्ण सुविधा उपलब्ध गराउन आफ्नै नयाँ सफट्वेयर विकास गरिरहेको छ । १ करोड ८६ लाख लागतमा ‘इन्फो डेभलपर्स एन्ड एभरेस्ट टेलिकम एन्ड आईटी सोलुसन प्रालि जेभी’ले कार्यालयका लागि सफट्वेयरको बनाइरहेको छ ।

गत पुस २० मा उक्त कम्पनीसँग नयाँ सफ्टवेयरको डिजाइन तथा विकासका लागि सम्झौता भएको थियो । कार्यालयले गत वर्ष भदौ २५ गते यसका लागि ठेक्का आह्वान गरेको थियो ।


रवि धिताल