कम्पनी रजिस्टार कार्यालयको १५ वर्ष पुरानो सफ्टवेयर फेरिँदै, असोजबाट सबै काम अनलाइनबाट
काठमाडौं । आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले ७० नम्बर बुँदा पढ्दै भनेका थिए, ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ ।’
जेठ १५ मा बजेट घोषणा भएपश्चात नयाँ आव सुरु भएको महिना दिन हुन लागेको छ । बजेटमा घोषणा गरिएको अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने विषयका लागि भने अझै पनि सफ्टवेयर नै तयार भएको छैन ।
सरकारले यसअघि पनि कम्पनी दर्ता तथा खारेजी गर्ने प्रक्रियालाई अनलाइन रुपमा नै सहज र सरल बनाउने र कार्यालयमा नै मान्छे पुग्नुपर्ने झन्झटबाट मुक्ती दिलाउने घोषणा गरेको थियो । तर, पूर्वतयारी बिना नै बजेटमा मात्रै यी कुराहरुको घोषणा हुँदा कार्यान्वयनमा आउनका लागि भने ढिलाइ भएको देखिएको छ ।
कम्पनी रजिस्टारको कार्यालयले हाल १५ वर्ष पुरानो सफ्टवेयरको प्रयोग गरिरहेको बताउँछिन् लेखा अधिकृत सावित्रा सुवेदी ।
हाल भइरहेको सफ्टवेयर पुरानो भएकाले यसमा परिमार्जन गर्ने विभिन्न कामलाई अनलाइन पद्दतिमा रुपान्तरण गरिँदै आएको छ । तर, पूर्णरुपमा कार्यालय नै नगई कम्पनी दर्ता तथा खारेजी हुने जस्ता प्रक्रिया सुरु गर्न भने अझै दुई महिना कुर्नुपर्ने भएको छ ।
कम्पनी राजिस्टारको कार्यालयले हाल अनलाइनमाध्यमबाटै कम्पनीको दर्ता, खारेजीलगायतका अन्य सम्पूर्ण सुविधा उपलब्ध गराउन आफ्नै नयाँ सफट्वेयर विकास गरिरहेको छ । १ करोड ८६ लाख लागतमा ‘इन्फो डेभलपर्स एन्ड एभरेस्ट टेलिकम एन्ड आईटी सोलुसन प्रालि जेभी’ले कार्यालयका लागि सफट्वेयरको बनाइरहेको छ ।
गत पुस २० मा उक्त कम्पनीसँग कम्पनी रजिस्टारको कार्यालयका लागि नयाँ सफ्टवेयरको डिजाइन तथा विकासका लागि सम्झौता भएको थियो । कार्यालयले गत वर्ष भदौ २५ गते यसका लागि ठेक्का आह्वान गरेको थियो ।
कम्पनी रजिस्टारको कार्यालयका प्रवक्ता शेखरबाबु कार्कीका अनुसार हाल कम्पनी दर्ता तथा खारेजीलगायतका काम अनलाइनबाट भइरहेको छैन । उनी भन्छन्, ‘एउटा सफ्टवेयर बन्दै छ कम्पनीको, यो बनेपछि हुन्छ । असोज मसान्तसम्ममा सफ्टवेयर तयार भएपछि हामी सेवा सुरु गर्नेछौं ।’
हाल सञ्चालनमा रहेको १५ वर्ष पुरानो सफ्टवेयरलाई समयक्रममा परिमार्जन गर्दै सञ्चालन गरिरहँदा विभिन्न समस्या देखिएको लेखा अधिकृत सुवेदीले बताइन् । ‘त्यो सफ्टवेयरमा नयाँ फिचरहरु जोड्दा समस्या देखियो,’ उनी भन्छिन्, ‘पहिले अनलाइनबाट नै पेमेन्ट गर्न मिल्ने प्रणाली थिएन । त्यसलाई जोड्यौं तर विभिन्न समस्या आयो । आन्तरिक राजस्व विभाग, बैंक, आईक्यानहरुमा लिंक गर्दा पुरानो सफ्टवेयरमा समस्या देखिएको थियो ।’
सँगै पुरानो सफ्टवेयर रहेको सर्भरमा क्षमताभन्दा धेरै कम्पनी दर्ता भइरहेकाले त्यसमा पनि समस्या आइरहेकाले नयाँ सफ्टवेयरको विकास थालिएको सुवेदीले बताइन् । उनले भनिन्, ‘डाटा स्टोरेज क्यापासिटी पनि पुगेन । डिजिटल सिग्नेचर पनि राख्न मिलिरहेको थिएन ।’
नयाँ सफट्वेयरमा भने यस्ता सुविधा सबै रहने उनले बताइन् । हाल सञ्चालनमा रहेको सफ्टवेयरमा अनलाइनबाट दर्ताका लागि आवेदन दिनेलगायतका काम भए पनि हस्ताक्षर गर्ने कागजातका लागि भने कम्पनी रजिस्टारकै कार्यालयमा जानुपर्ने बाध्यता छ ।
सुवेदीका अनुसार हाल अनलाइनबाट कम्पनी दर्ताका लागि नाम अप्लाई गर्न सकिन्छ । तत्पश्चात् खारेज भयो वा स्वीकृत भयो भन्ने जानकारी अनलाइनमाध्यमबाट नै उपलब्ध गराइन्छ । स्वीकृत भएको खण्डमा कागजातहरु अनलाइनबाट नै बुझाउन सकिए पनि प्रबन्धपत्र र नियमावलीहरुमा हस्ताक्षरका लागि भने कार्यालयमा नै जानुपर्ने हुन्छ ।
‘अहिले केही काम अनलाइनबाट नै गर्न सकिन्छ,’ उनले भनिन्, ‘तर कार्यालयमा आउनु नै पर्छ । नयाँ सफट्वेयर बनेपछि भने कार्यालयमा आएर हस्ताक्षर गर्ने वा हुलाकमार्फत पठाउने भन्ने हुन्छ । डिजिटल हस्ताक्षर भएमा त्यो पनि पर्दैन । नभएको खण्डमा यो सुविधा रहन्छ । तब कार्यालयमा आउनुपर्छ भन्ने हुँदैन ।’
अहिलेजस्तै साधारण अवस्थामा पनि कार्यालयमा नै जानुपर्ने बाध्यता नयाँ सफ्टवेयर सञ्चालनमा आउँदा नहुने उनले बताइन् । ‘सनाखत गर्नुपर्ने भएमा कार्यालयमा आउनुपर्ने हुनसक्छ । तर, अहिलेजस्तो सामान्य कम्पनी दर्ता वा खारेजी गर्नका लागि भने कार्यालयमा आउनु नपर्ने किसिमले सफ्वेयरको विकास भइरहेको छ ।’
हाल कम्पनी रजिस्टारको कार्यालयले सञ्चालन गरिरहेको पुरानो सफ्टवेयरको वार्षिक मर्मत खर्च ९९ लाख ९३ हजार ७२० रुपैयाँ छ । नयाँ सफ्टवेयर विकास भएपछि उक्त मर्मत खर्चलाई नै निरन्तरता दिइने लेखा अधिकृत सुवेदीले बताइन् । त्यसको सम्झौता पनि सफ्टवेयर विकास गरिरहेकै कम्पनीमध्येकै इन्फो डेभलोपर्ससँग नै भएको छ ।