लालबन्दीबाट एकै महिनामा १४ करोडको तरकारी निकासी



सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले साउन महिनामा मात्रै १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०/८१ को पहिलो महिनामा १४ करोड ३९ लाख ६१ हजार ६ सय ५० रुपैयाँ बराबरको तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार आव २०८०/८१ को पहिलो महिनामा दुई करोड ८९ लाख नौ हजार ६ सय किलो तरकारी निकासी भएको हो ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गरेका छन् ।

सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगन्ज, हेटौँडा, वीरगन्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।

सङ्घीय सरकारअन्तर्गत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलगोभी, बन्दा, घिरौँला, सिमी, झिङ्गनी, मुला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडे खुर्सानीलगायतका तरकारी निकासी हुने गरेको समितिले जनाएको छ ।


क्लिकमान्डु