विषादीको प्रयोगः सबैभन्दा बढी धान र तरकारीमा



काठमाडौं । मानव स्वास्थ्यलाई हानि गर्ने रासायनिक किटनाशक विषादीको प्रयोग सबैभन्दा बढी धान, आलु र तरकारीमा हुने गरेको पाइएको छ । नेपालीको प्रमुख खान्की धानबाट उत्पादन हुने चामल हो । चामलपछि दोस्रो खपत हुने तरकारीवालीमा आलु र तरकारी हो ।

नेपालीले खाने प्रमुख खान्कीमै सबैभन्दा बढी विषादी प्रयोग भएको पाइएको छ । विषादीको परिमाण प्रयोग दर पनि यही प्रमुख खाद्यान्न बालीमा बढ्दै गएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको सातौं राष्ट्रिय कृषि गणनाअनुसार धानमा मात्रै ४४.६ प्रतिशतको हाराहारीमा विषादीको प्रयोग भएको पाइएको छ । २०६८ मा धानबालीमा २९ प्रतिशत, २०५८ मा २५.३ प्रतिशत, २०४८ मा १३.२ प्रतिशत परिमाणमा विषादीको प्रयोग भएको थियो ।

यसैगरी आलुमा ३६.१ प्रतिशतको परिमाणमा विषादीको प्रयोग भएको पाइएको छ । आलुमा २०६८ मा २७.९ प्रतिशत, २०५८ मा २०.३ प्रतिशत, २०४८ मा १०.७ प्रतिशतको परिमाणमा घातक विषादीको प्रयोग भएको थियो ।

यस्तै तरकारीतर्फ २६.७ प्रतिशत परिमाणमा विषादीको प्रयोग भएको उक्त कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । २०६८ मा १५.९ प्रतिशत, २०५८ मा १६.४ प्रतिशत र २०४८ मा ५.५ प्रतिशत परिमाणमा विषादी तरकारीमा प्रयोग भइरहेको छ ।

भक्तपुर, काभ्रेसहित सीमा क्षेत्रका जिल्लाहरुमा धान, तरकारी र आलुबालीमा अत्यधिक विषादी प्रयोग हुने गरेको बताइएको छ । तथ्यांकअनुसार सर्वेक्षणमा सहभागी भएका ७ सय ५३ स्थानीय तहका ३ लाख ३० हजार १ सय १२ किसानमध्ये तरकारीमा विषादी प्रयोग नगर्ने किसानहरु ७३.३ प्रतिशतको संख्यामा छन् ।

विषादी प्रयोग गर्ने किसानको संख्या भने २६.७ प्रतिशत छ । यो २६.७ प्रतिशतमध्ये पनि सुरक्षित विषादी प्रयोग गर्ने किसानको संख्या ५३.२ प्रतिशत छ । मध्यम खालको विषादी प्रयोग गर्ने किसानको संख्या ३३.२ प्रतिशत छ भने कडा खालको विषादी प्रयोग गर्ने किसान १२.९ प्रतिशत छन् । त्यस्तै अतिकडा खालको विषादी प्रयोग गर्ने किसानको संख्या ०.७ प्रतिशत छ ।


क्लिकमान्डु