सरकारले उद्योग चलाउने होइन, वातावरण बनाउने हो: उद्योग मन्त्री



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले उद्योग चलाउन नहुने बताएका छन् ।

उद्योग मन्त्रालयमा पत्रकारहरूसँगको अन्तरक्रियामा मन्त्री रिजालले उद्योग चलाउने काम निजी क्षेत्रको भएको र सरकारले वातावरण बनाउने पर्ने बताए ।

‘सयौं वर्ष अगाडि चाणक्यले भनेका थिए, जुन देशको सरकार व्यापारी हुन्छ, त्यो देशका जनता भिकारी हुन्छन् । म यो धारणामा विश्वास गर्छु,’ रिजालले भने,’नेपालमा सरकारी उद्योग निजी क्षेत्रलाई चलाउन दियो भने उद्योग विक्री गर्यो भन्ने आरोप लाग्छ, अब हामीले पिपिपी मोडलमा उद्योग चलाउनु पर्छ ।’

निजी क्षेत्रले उद्योग संचालन गर्ने सरकारले वातावरण बनाउने, कानून संशोधन गर्ने र अन्य सुविधा दिनु पर्ने रिजालले बताए । सरकारले हिजो कै तरिकाले काम गर्यो भने समृद्धि र सुशासनको चाहना पूरा नहुने रिजालको भनाइ छ।

‘हामीले प्राथमिकता परिवर्तन गर्नु पर्छ । जग्गाको हदबन्दी नहट्दासम्म कृषि उद्योग विकास हुन सक्दैन,’ रिजालले भने,’पुरानोको तरिकाले मुलुक चल्दैन । हामीले धेरै विषयमा सुधारको निर्णय गर्नु पर्नेछ ।’


क्लिकमान्डु