राष्ट्र बैंक संचालककै आफन्तले किने समस्याग्रस्त जनरल फाइनान्स




काठमाडौं । जनरल फाइनान्स कम्पनी समस्याग्रस्तबाट मुक्त भएको छ । नयाँ समुहले कम्पनी किनेर चलाउने भएपछि राष्ट्र बैंकले सो कम्पनीलाई समस्याग्रस्तको सुचीबाट हटाएको हो ।

कम्पनीको पूँजीकोष करिब १८ प्रतिशतले ऋणात्मक भएपछि राष्ट्र बैंकले २०७० जेठदेखि सो कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

पूँजीकोष धनात्मक भएपछि आज (सोमबार) बसेको राष्ट्र बैंक संचालक समितिले सो फाइनान्सलाई समस्याग्रस्तको सुचीबाट हटाउने निर्णय गरेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

‘पूँजीकोष ऋणात्मक भएपछि कम्पनीलाई समस्याग्रस्त घोषणा गरिएको थियो, अहिले पूँजीकोष ४१ प्रतिशतले धनात्मक रहेको र थप लगानी गर्न लगानीकर्ता तयार भएर आएपछि समस्याग्रस्तको सुचीबाट हटाइएको हो,’ गभर्नर कार्यालयका निर्देशकसमेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।

सो फाइनान्स कम्पनी नयाँ समुहले किनेर संचालन गर्न लागेको छ । यसको लागि पाल्पाका ब्यापारी पदमराज न्यौपाने तथा सुदिन्द्रमान श्रेष्ठ सहितको समुहले कम्पनी किनेको हो । नयाँ समुहले जनरल फाइनान्सको बैंक खातामा ८ करोड ७९ लाख रुपैयाँ जम्मा गरिसकेको छ । यस्तो रकम राष्ट्र बैंकको स्वीकृतिविना झिक्न पाइदैन ।

कम्पनी खरिद गर्ने श्रेष्ठ र राष्ट्र बैंक संचालक समिति सदस्य बिकेमान श्रेष्ठविच पारिवारिक सम्बन्ध भएको स्रोतको दाबी छ । अहिले बिकेमान श्रेष्ठ अदालतको निर्देशन अनुसार निलम्बनमा छन् । राष्ट्र बैंकको संचालक बन्न चाहिने योग्यता नपुगेको दाबी सहित परेको थियो । यसबारेमा अदालतले अन्तिम फैसला भने गरिसकेको छैन । निलम्बनमा परेका कारण उनी यो निर्णय प्रक्रियामा सहभागी छैनन् ।

नेपाल राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार आगामी असार मसान्तसम्ममा राष्ट्रियस्तरको फाइनान्स कम्पनीको चुक्तापूँजी कम्तिमा पनि ८० करोड रुपैयाँ हुनुपर्छ । समस्याग्रस्त घोषणा भएको समयमा सो फाइनान्सको चुक्ता पूँजी १३ करोड रुपैयाँ थियो । नयाँ लगानीकर्ताको समुहले हकप्रद सेयर निस्कासन गर्ने र नपुग भएको रकम दामासाही रुपमा थप गर्ने प्रतिबद्धता राष्ट्र बैंकसँग गरेका छन् ।

नयाँ समुहले सो फाइनान्स कम्पनी प्रतिकित्ता ४० रुपैयाँभन्दा कम मूल्यमा खरिद गरेका छन् । नयाँ समुहले जनरल फाइनान्सको करिब १२ प्रतिशत सेयर खरिद गरिसकेको स्रोतले जानकारी दिएको छ ।

यस्तै सोमबारै बसेको राष्ट्र बैंक संचालक समिति बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक र सनराइज बैंकलाई एनआइडिसी डेभलपमेन्ट बैंक खरिद गर्न सहमति पनि दिएको छ ।


क्लिकमान्डु