११ करोड खर्चिएर फुटपाथ सुधार गर्दै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरदेखि बालाजु र तीनकुनेदेखि गौशालासम्मको फुटपाथ सुधार गर्नका लागि ११ करोड रुपैयाँको ठेक्का लगाएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ र वडा नम्बर १६ अन्तर्गत लैनचौरदेखि बालाजुसम्म ४ करोड ४० लाख ३५ हजार २१७ रुपैयाँ खर्चिएर फुटपाथको सुदृढीकरण गर्न लागेको हो । महानगरले यसको ठेक्का प्रदिप-आरएम-गाउँले जेभीलाई दिएको छ ।

त्यस्तै, महानगरपालिकाले तीनकुनेदेखि गौशालासम्मको पनि फुटपाथको सुधारका लागि ६ करोड ५९ ४९ हजार ३८४ रुपैयाँको ठेक्का लगाएको छ । यसको जिम्मा भने के एन्ड के जि-द कस्मिक जेभीलाई दिइएको छ ।

काठमाडौं महानगरपालिकाले पैदलयात्रीलाई प्रमुख प्राथमिकतामा राख्दै फुटपाथ विस्तार गरी पैदलयात्रीमैत्री बनाउने काम गरिरहेको छ । जसअन्तर्गत विभिन्न ठाउँका फुटपाथको सुधार गर्ने, फुटपाथमा हुने व्यवसायलाई निरुत्साहित गर्नेलगायतका काम भइरहेका छन् ।


रवि धिताल