सुन तस्करी आरोपमा पक्राउ परेका छिरिङसँगको फोटो सार्वजनिक भएपछि वर्षमानको आपत्ति



काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिसँगको आफ्नो तस्बिर सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरे ।

पुनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताए ।

नेता पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत ८ वर्ष पहिला सार्वजनिक भइसकेको तस्बिरलाई अहिले आफूसँग जोडेर गरिएको प्रचारप्रति आपत्ति प्रकट गरेका छन् ।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए ।

‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ नेता पुनले भनेका छन्, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’

यस प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग नेता पुन र उनकी पत्नी ओनसरी घर्ती तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले खिचाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


क्लिकमान्डु