प्रभु बैंक प्रकरणः अर्बिट कन्सल्टेन्सीका सुनिल रेग्मी पनि सीआईबीको अनुसन्धान घेरामा


काठमाडौं । प्रभु बैंक घोटाला प्रकरणमा अर्बिट कन्सलटेन्सीका सञ्चालक सुनिल रेग्मी पनि प्रहरी अनुसन्धानको दायरामा तानिने भएका छन् ।

प्रभु बैंकसँग जोडिएको शैक्षिक कर्जा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्बिट कन्सलटेन्सी र त्यसका सञ्चालक सुनिल रेग्मीमाथि पनि अनुसन्धान गर्न लागेको हो ।

प्रभु बैंकका उच्च अधिकारीहरूसँग मिलेर शैक्षिक कर्जा स्वीकृतिको नाममा बैंकलाई प्राप्त हुने सेवा शुल्क बाँडफाँट गरी बैंकलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

अनुसन्धानका क्रममा प्रभु बैंकको कमलादी शाखामा पुतलीसडकस्थित अर्बिट मेडिकल इन्ट्रान्स प्रिपेरेसन सेन्टरलाई बैंककै प्रतिनिधिजस्तै राखी गोप्य बैंकिङ कारोबारमा अनधिकृत पहुँच दिएको भेटिएको छ ।

अर्बिटसँग सम्झौता गर्न तत्कालीन सीईओ अशोक शेरचनसहित बैंकका उच्च अधिकारीहरूको मिलेमतो रहेको सीआईबीको दाबी छ।

रेग्मी सीईओ शेरचनको गृहजिल्ला बागलुङकै हुन् । बैंकका सीईओ अशोक शेरचन डीसीईओ मनिराम पोखरेल लगायतलाई गत मंसि। १४ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैंकलाई हानी-नोक्सानी पुर्‍याई आपराधिक लाभ लिने सबै व्यक्ति अनुसन्धानको दायरामा आउने सीआईबीका अधिकारीहरू बताउँछन् ।

अनुसन्धानमा शैक्षिक कर्जा स्वीकृति तथा स्वदेश–विदेशका निकायमा बुझाउनुपर्ने शुल्क विद्यार्थीले अनलाइनमार्फत भुक्तानी गर्दा प्राप्त हुने कमिसन सिधै बैंकको खातामा जानुपर्नेमा अर्बिटको नाममा बुक गरी बैंकको आम्दानी बाँडीचुँडी हिनामिना गरिएको पाइएको छ ।

स्रोतका अनुसार विद्यार्थीले ५ सय डलरभन्दा माथिको कारोबार गरेमा कन्सल्टेन्सीलाई ५ सय रुपैयाँ कमिसन दिने सम्झौता गरिएको थियो, जुन रकम बैंकको प्रत्यक्ष आम्दानी हुनुपर्ने थियो ।

उनै रेग्मी सञ्चालक रहेको एक कलेजमा पनि प्रभु बैंकबाट करोडौं कर्जा प्रवाह भएको विषयलाई सीआईबीका अधिकारीहरूले नजिकबाट हेरिरहेका छन् ।

‘अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी प्रभु बैंकको कमलादी शाखा कार्यालयमा अर्बिट कन्सल्टेन्सीका व्यक्तिलाई राखी गोप्य राख्नुपर्ने बैंकिङ कारोबारमा अनधिकृत व्यक्तिको पहुँच दिई विद्यार्थीहरूले लिएको शैक्षिक कर्जा तथा स्वदेश तथा विदेशमा बुझाउनुपर्ने शुल्क वापतको रकम अनलाइन भुक्तानी गर्दा बैंकले पाउने कमिसन रकमलाई अर्बिटको नाममा बुक गरी अर्बिटसँग मिलिभगतमा बैंकको कमाईका रूपमा रहेको बैंक कमिसन हिनामिना गरी एकअर्कामा मिली बाँडेर खाई बैंकलाई हानी–नोक्सानी पुर्‍याएको,’ उजुरीमा भनिएको छ।