विकास बैंकमा पनि काउन्टर साइक्लिकल बफर, पुँजीकोष कम भएकालाई कर्जा प्रवाहमा दबाब



काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकमा काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले शुक्रबार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ मा व्यवस्था भएबमोजिम विकास बैंकमा पनि काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको हो ।

वाणिज्य बैंकहरुलाई चालु आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर लागू भइसकेको छ।

एकीकृत निर्देशनअनुसार ‘क’ वर्गका इजाजत प्राप्पत संस्था र ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ बमोजिम र ‘ख’ वर्गका राष्ट्रिय स्तरबाहेकका र ‘ग’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २००७ (२००८ जुलाईमा अद्यावधिक) अनुसार काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्नेछ ।

‘क’ वर्गका इजाजत प्राप्त संस्था र ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकले पुँजीकोषको गणना संलग्न अनुसूची १.१ मा व्यवस्था भएको क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ बमोजिम गर्नुपर्नेछ ।

त्यस्तै ‘ख’ वर्गका राष्ट्रिय स्तरबाहेकका र ‘ग’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाले पुँजीकोषको गणना संलग्न अनुसूची १.२ मा व्यवस्था भएको क्यापिटल एडुक्वेसी फ्रेमवर्क २००७ (२००८ जुलाईमा अद्यावधिक) अनुसार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न पछिल्लो ५ आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रमा प्रवाह भएको कर्जाको औसत अनुपात निकालिन्छ ।

कर्जाको औसत र पछिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको कर्जाको अनुपातबीचको अन्तर निकाल्नुपर्छ । पाँच वर्षको औसतको तुलनामा गत वर्ष भएको कर्जा विस्तार अति नै धरै भयो भने जोखिम बढ्ने विश्लेषणका आधारमा थप पुँजीकोष राख्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ अनुसार कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको कर्जाको अनुपातबीचको अन्तर ५ प्रतिशतसम्म मात्र भए थप पुँजीकोष राख्नु पर्दैन ।

अनुपात ५ देखि ७.५ अंकको भए ०.५ प्रतिशत, ७.५ प्रतिशतदेखि १० अंक भए १ प्रतिशत, १० देखि १२.५ भए १.५ प्रतिशत, १२.५ देखि १५ अंकसम्म भए २ प्रतिशत र १५ अंकभन्दा माथि भए २.५ प्रतिशत थप पुँजीकोष आवश्यक पर्छ ।


क्लिकमान्डु