भारतले चामलको निर्यात प्रतिबन्ध हटाउन आईएमएफले छलफल गर्ने



एजेन्सी । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारत सरकारले गरेको चामलको निर्यातमाथिको प्रतिबन्ध हटाउनका लागि छलफल गर्ने भएको छ ।

भारत सरकारले गत २० जुलाईदेखि बासमती बाहेकका चामलहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको प्रतिबन्धसँगै विश्वभरमा नै चामलको मूल्यमा बृद्धि भइरहेको छ । जसकारण आईएमएफले भारतको चामल निर्यातमाथि प्रतिबन्ध लगाउने निर्णयले विश्वभरमा नै चामलको मूल्यमा असर परेको भन्दै त्यसलाई हटाउनका लागि छलफल गर्ने भएको हो ।

भारत सरकारले भने चामलको निर्यातमा प्रतिबनध लगाउँदा चाडपर्वको समय आएकाले स्वदेशमा चामलको मूल्यलाई तीव्र रुपमा नियन्त्रणमा लिन यस्तो निर्णय लिएको जनाएको छ । भारतका खाद्य मन्त्रालयले एक विज्ञप्तीमा चामलको निर्यातको विषयमा लिइएको निर्णयमा कुनै पनि फेरबदल नहुने जनाएको छ ।

यता आईएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिवियर गौरीचसले भने विश्वभरको स्थिति हेर्दा खाद्य संकट आउन सक्ने अवस्था भएकाले प्रतिबन्ध हटाउनका लागि छलफल गरिने बताएका छन् । उनले अहिलेको अवस्थामा विश्वभरमा नै खाद्यान्नको मूल्यमा अस्थिरता पैदा हुने आशंका रहेकाले भारतले निर्णयमाथि पुर्नविचार गर्नुपर्ने देखिएको बताएका छन् ।

भारत विश्वभरमा नै चामलको सबैभन्दा ठूलो निर्यातकर्तामध्येमा पर्छ । भारतको पश्चिम बंगाल क्षेत्र धानको सबैभन्दा ठूलो उत्पादन हो । गत वर्ष (सन् २०२२÷०२३ )मा भारतमा कुल चामलको उत्पादन १३.५५ करोड मेट्रिक टन रहेको थियो ।


क्लिकमान्डु