बचतकर्ता ठग्ने अष्ट सहकारीका अध्यक्षको बयानः ९ करोड बिनाधितो ऋण दिएको छु



काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई ठगेर भागेपछि प्रहरीले लिएको बयानपछि सरकारी वकिलाको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अहिले सहकारीका अध्यक्ष अनिल खड्का लगायत सञ्चालक फरार रहेका छन् ।

सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । बचतकर्ताले उजुरी दिएपछि संस्थाका अध्यक्षसँग पहिला नै बयान लिइएको थियो । अहिले भने अध्यक्ष खड्का फरार रहेका छन् ।

उनले तत्कालिन समयमा बयान दिँदा आफु संस्थामा २०७५ सालदेखि प्रबन्ध निर्देशकको रुपमा काम गरेको स्वीकारेका छन् ।

त्यो समयमा सहकारीको संचालक समितिको अमध्यक्षमा सरिता महर्जन रहेको र अध्यक्ष महजर्नले सहकारीको सञ्चालन गर्न आफुलाई सुम्पिएको दाबी गरे । उनका अनुसार २०७७ पुस २५ गतेको बार्षिक साधारण सभाबाट आफु अध्यक्षमा निर्वाचित भएको बताएका छन् ।

खड्काका अनुसार सहकारीका पूर्वसंचालक समिति अध्यक्ष महर्जनले छोड्दा सहकारी सम्पूर्ण कारोबार ठिक भएको बताएका छन् ।

‘उक्त साधारण सभाबाट अध्यक्षमा म, उपाध्यक्षमा बिजय खड्का, सचिवमा जिवन बुढाथोकी, कोषाध्क्षमा कुम्भराज जोशी, सदस्यमा सुशिलबिक्रम राणा, सदस्यमा प्रकाश खड्का, सदस्यमा सुशिला बोहरा, सदस्यमा गोबिन्द बुढाथोकी, सदस्यमा सुवास बुढाथोकी र सदस्यमा वबिता खड्का निर्वाचित भई सहकारी संचालन गर्दै आएका थियौँ । यसै क्रममा उक्त संस्थामा बचतकर्ताहरुको संख्या बढाउने उद्देश्यले २०७८ असोज ६ गते काठमाडौ कोटेश्वरमा सहकारीकै नाममा सुबिधा काउण्टर संचालनमा ल्याएका थियौँ’ उनले बयानमा भनेका छन् ‘उक्त काउण्टरमा हालसम्म करिब १५० जना बचतकर्ताहरु थिए । उक्त काउण्टरमा बचतकर्ताहरुले जम्मा गरेको रकमको अवधी पूरा भएपछि बचतकर्ताहरु पैसा झिक्न एकैसाथ आएको र सहकारीमा जम्मा भएको रकम ऋण प्रवाह गरेको हुँदा बचतकर्तालाई रकम फिर्ता गर्न सकिरहेको थिएन । बजारबाट उठ्नुपर्ने लोन नउठेकोले कोटेश्वर स्थित सुविधा काउण्टरमा काम गर्ने स्टाफहरुलाई तलब समेत दिन नसकेकोले निजहरुले राजीनामा दिएको हुँदा उक्त काउण्टर तत्कालको लागि बन्द गरी प्रधान कार्यालयबाट नै सुविधा दिदै आएका थियौँ ।’

अध्यक्ष खड्काका अनुसार उक्त काउण्टर बन्द भएको भनि बचतकर्ताले थाहा पाएपछि २०७९ असोजदेखि सहकारीमा जम्मा गरेको रकम एकमुष्ट धेरै बचतकर्ताले फिर्ता माग गर्दै आएको उल्लेख गरे । बजारमा प्रवाह गरेको लोन उठाई बचतकर्तालाई पैसा फिर्ता गर्दै आईरहेपनि पछिल्लो समयमा बजारमा लगानी गरेको ऋण नउठेकोले बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम एकमुष्ट धेरै बचतकर्ताहरुले फिर्ता माग गरेकोले फिर्ता दिन नसेको जनाएको छ । बचत फिर्ता गर्न नसक्दा बचतकर्ताल बचत फिर्ता पाउँ भनी सहकारी विभाग हुँदै प्रहरी कार्यालयमा समेत उजुरी गरेको स्वीकारेका छन् ।

‘बचतकर्ताहरुको रकम फिर्ता गर्न पर्यो भनि बजारमा प्रवाह गरेको ऋणीको जग्गा लिई बचतकर्ताहरुलाई जग्गा मार्फत रकम फिर्ता दिने कार्य लागि रहेको थिएँ । उक्त काम मिलाउन नपाउँदै म पक्राउमा परेकोले बचतकर्ताको रकम फिर्ता दिन सकेको छैन’ उनले बयानमा भनेका छन् ‘म दिनहुँ सहकारीमा आई बचतकर्ताहरुसँग भेट्ने, फोनमा समेत कुरा हुने गर्दथियो । तर मैले जाहेरवालाहरु तथा निवेदक बचतकर्ताहरुको मेरो संस्थामा जम्मा गरेको रकम खाई पचाउने नियत राखी रकम हिनामिना गरेको छैन । बजारमा ऋण प्रबाह भएको रकम आर्थिक मन्दीको कारणले उठाउन नसकेको हुँदा रकम झिक्न आएका सबै बचतकर्ताहरुलाई मैले रकम फिर्ता गर्न नसकेको हो । केही बचतकर्ताहरुको रकम मैले फिर्ता गरेको छु ।’

अध्यक्ष खड्काले केही बचतकर्ताहरुलाई आफ्नो व्यक्तिगत बैंक खाताको चेकहरु समेत जनाएका छन् । आफुले दिएको चेक भुक्तानी नभएकोले बचतकर्ताहरुले चेक वाउन्स गरी आफुविरुद्ध चेक वाउन्सको मुद्दा हालेको जनाएका छन् ।

‘बचतकर्ताले सहकारीमा जम्मा गरेको रकमबाट मैले करिब ९ करोड रुपैयाँजति ऋण बजारमा प्रबाह गरेको छु । बजारमा ऋण प्रवाह गर्दा बिनाधितो सामुहिक जमानीमा व्यक्ति तथा संस्थालाई ऋण प्रवाह गरेको छु । विस्तृत विवरण सहकारीकै अभिलेखमा छ । भने मैले सहकारी संस्थाको तर्फबाट सरकारलाई आ.व. ०७६÷०७७ सम्मको कर चुक्ता गरेको छु’ उनले बयानमा भनेका छन् ‘पछिल्लो समयमा पैसा नभएकोले पछिल्लो आर्थिक वर्षदेखि हालसम्मको कर बुझाउन सकेको छैन । मैले करिब ९ करोड बराबरको रकम बजारमा ऋण प्रवाह गरेको छु । बचतकर्ताहरुलाई औसतमा ६ करोड बराबरको रकम फिर्ता गर्नु बाँकी छ ।’

बजारमा प्रवाह गरेको ऋण नउठे पनि बचतकर्ताहरुको रकम तिर्न मन्जुर रहेको जनाएका थिए । हाल सहकारीमा पैसा नभएको समेत स्वीरेका छन् ।

अध्यक्ष खड्काले आफ्नो संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमबाट कुनै सेयर बजार तथा अन्य प्रयोजनमा लगानी नगरेको जनाएका छन् । सबै रकम बजारमा सामुहिक जमानीमा ऋण प्रवाह गरेको जनाएका छन् । बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम बजारमा सामुहिक जमानीमा ऋण प्रवाह गर्न ऋण स्वीकृत गर्ने पूर्ण अधिकार आफ्नो भएको स्वीकारेका छन् भने बजारमा प्रवाह भएको ऋण आफैले स्वीकृत गरेको जनाएका छन् ।

ऋण प्रवाह गरेको विषयमा संचालक समितिका अन्य पदाधिकारीहरुलाई मासिक बैठकमा जानकारी हुने र जाहेरी दरखास्त तथा निवेदकमा १ करोड ९० लाख ४ हजार ११३ रुपैयाँ आफुले हिनामिना नगरेको स्वीकारेका छन् । बजारमा ऋण प्रबाह गरेको रकम उठाउन
नसकेको कारण जाहेरवालाहरुले माग गेरको समयमा रकम फिर्ता गर्न नसकेको स्वीकारेका छन् । अध्यक्ष खड्काले बचतकर्ताको पैसामा आफुले नगरेको, हिनामिना नगरेको र सहकारीको सदस्य प्रकाश खड्कालाई ३ लाख ऋण दिएको दाबी गरेका छन् ।


क्लिकमान्डु