विशाल ग्रुपको मैनावती स्टिल इन्डष्ट्रीले १० महिनामै गर्‍यो ५ अर्बको व्यापार



काठमाडौं । विशाल ग्रुपको लगानी रहेको मैनावती स्टिल इन्डष्ट्री प्रालिले १० महिनाको अवधिमै करिब ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को १० महिनाको अवधिमा ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ४ अर्ब २९ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब ६५ करोड ८० लाख र सन् २०२० मा ५ अर्ब २४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख ११ हजार ९ सय मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीमा अध्यक्ष त्रिलोक अग्रवालको १७ प्रतिशत हिस्सा छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६ अर्ब २२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा १० देखि १२ प्रतिशतसम्म नाफा कमाएको छ । कम्पनीका अनुसार सन् २०२३ को १० महिनाको अवधिमा गत वर्षको तुलनामा १४ प्रतिशतले व्यापार बढेको हो ।

कम्पनीले एमएस ब्ल्याक पाइप, एमएस सिट्स, टुबुलार/टेलिस्कोप पोल्स, जीआई पाइप, स्ट्रक्चर, सटर प्रोफाइल र अन्य विभिन्न प्रकारका स्टिलजन्य वस्तु बजारको मागअनुसार बिक्री गर्दै आएको छ ।

कम्पनीले एमएसआई ब्रान्डमा आफ्ना उत्पादन बिक्री गर्ने गर्छ । कम्पनीले विभिन्न कच्चा पदार्थ आयात गरी बजारको मागअनुसार वस्तु उत्पादन गरिरहेको छ । कम्पनीले एचआर/सीआर/जीपी कोइला, जिन्क इन्गोट, रोड र एन्जल आदि कच्चा पदार्थ भारतबाट आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु