संघई परिवारद्वारा सञ्चालित अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीले एकै वर्ष गर्‍यो साढे १२ अर्बको व्यापार



काठमाडौं । संघई परिवारद्वारा सञ्चालित अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीले एकै वर्ष साढे १२ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १२ अर्ब ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ११ अर्ब ७ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा १४ प्रतिशतले व्यापार बढेको छ ।

व्यापार बढे पनि नाफा भने घटेको कम्पनीको भनाइ छ । कच्चा तेलमा पूर्ण अन्तर्राष्ट्रिय बजारमा निर्भर भएकाले मूल्यमा आएको उतारचढावले कम्पनीको व्यापारमा असर पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा १३.११ प्रतिशत नाफा कमाएकोमा सन् २०२२ मा ६.५१ प्रतिशत मात्रै नाफा कमाएको छ । कच्चा पदार्थमा परनिर्भर रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर हुँदा उच्च असर पुगेको उल्लेख छ ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी आन्तरिक बजारमा बिक्री गर्नुको साथै निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ६० हजार मेट्रिक टन भटमास, पामलिन र सनफ्लावर तेल, ७ हजार मेट्रिक टन वनस्पति घ्यू र १० हजार मेट्रिक टन तोरीको तेल प्रशोधन गर्दै आएको छ ।

कम्पनीले आन्तरिक बजारमा अमृत, सनस्टार र रानी गरी तीनवटा ब्रान्डमा तेल बिक्री गर्दै आएको छ । कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि निर्यात गर्दै आएको छ । तर, भारत सरकारले कच्चा तेल आयातमा भन्सार दर शून्य बनाएसँगै नेपालबाट निर्यात हुने तेलको हिस्सा घटेको छ ।

भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर शून्य बनाएसँगै नेपालबाट निर्यात हुने तेल गत वर्षको ११ महिनाको अवधिमा ६८ प्रतिशतले घटेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ । कम्पनीले वार्षिक आन्तरिक बजारमा ५ अर्ब रुपैयाँबराबरको बिक्री गर्दै आएको छ ।

कम्पनीले दक्षिण अमेरिका, मलेसिया, इन्डोनेसिया, युक्रेन, क्यानाडा, अष्ट्रेलिया र भारतबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । जसका कम्पनीले एथ्री रेटिङ पाएको छ ।


क्लिकमान्डु