सुन तस्करीमा मेरो संलग्नता पुष्टि गर्न चुनौति दिन्छुः दिपक मल्होत्रा



आज मिति २०८० साउन ४ गतेको ’नयाँ पत्रिका’ मा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ । समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु ।

म र मेरो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानून वमोजिम स्थापना भएका निकायमार्फत् हुने गरेको छ । मैले गर्ने सबै कारोबारहरु संगठित संस्थामार्फत् हुने भएकोले प्रचारका कानून वमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गर्दछ । म र मेरो परिवारले व्यक्तिगतरुपमा तथा प्रत्यक्ष एवं परोक्षरुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोबार गर्ने गरेको छैन । म र मेरो परिवारको कारोबार, आय सबै कानून बमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।

नयाँ पत्रिकामा प्रकाशित समाचारमा भनिएजस्तो त्यो सुन आयात गर्न मसम्बद्ध व्यापारिक प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पत्तिबाट, कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य भए गरेको छैन । साथै उक्त वस्तु आयातमा म, मेरो परिवार, म सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसँगसम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु ।

पत्रिकामा नाम उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसँग मेरो कारोबार र सम्बन्ध हुनु त परेको कुरा, चिनजानसमेत छैन । विदेशबाट पठाएको भनिएको वस्तु आयात गर्ने, उक्त वस्तु भन्सार जाँचपास गराउने र वस्तु जिम्मा लिने कुनै पनि चरणमा मेरो संलग्नता छैन । तर, प्रकाशित समाचारमा स्रोतको हवाला दिँदै आफैं कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन्, मेरो तस्वीरसमेत राखेर मेरो सार्वजनिक जीवनमाथि प्रहार गर्न खोजेका छन् । यसबाट समाचार लेख्ने पत्रकार, उक्त प्रकाशन संस्थाको नियत राम्रो नभएको स्पष्ट देखिन्छ । एउटा पत्रकारको अनुमान र आशंकाका आधारमा के कसैको सार्वजनिक जीवनमा प्रहार गर्न, समाजमा स्थापित पहिचानलाई खल्बल्याउन पाइन्छ ?

यो समाचार लेख्दा, तयार पार्दा मसँग निज पत्रकार वा सो प्रकाशनबाट कसैले यस विषयमा जानकारीसमेत लिन चाहेन। समाचारमा मलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको उल्लेख गरिए पनि यो सरासर झुट हो । म नेपालमा वसोबास भएको व्यक्ति हुँ । काम विशेषले कहिलेकाहीं विदेश जानुपर्ने अवस्थामा बाहेक म सदैब नेपालमा रहने हुँदा मसँग सम्पर्क नहुने अवस्था हुँदैन । सम्पर्क हुन नसकेको व्यहोरा पारी निवेदकको वैयक्तिक, पारिवारिक, सामाजिक एवं व्यापारिक ख्यातिलाई धुलोमा मिलाउने (धुलीसात पार्ने) गरी गैरकानूनी कार्यमा संलग्नता भएको राष्ट्रिय समाचार माध्यममा प्रकाशित गरिनु कदापी क्षम्य र सहनयोग्य कार्य मानिँदैन ।

एक नागरिकले समाजमा वर्षौंको लगानी, निष्ठा, कर्तव्यपरायणता, कानूनकोपालना लगायतका कृयाकलापद्वारा आफ्नो पहिचान र प्रतिष्ठा आर्जन गरेको हुन्छ । व्यक्तिको ख्याति एवं प्रतिष्ठा उसको सबै सम्पत्ति भन्दा महत्वपूर्ण आर्जन हो । व्यक्तिलाई समाजमा सम्मान र विश्वास निजको ख्याति एवं प्रतिष्ठाको आधामा गरिन्छ । मैले धेरै लामो समयदेखि कानूनसम्मत व्यापार व्यवसाय गरी आफ्नो निष्ठापूर्ण व्यवसायीक पहिचान बनाएका छु । एक सामान्य नागरिकसरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक पहिचान प्रतिष्ठा र सम्मान रहेको छ । यस पृष्ठभूमिमा मलाई एक पटक पनि नबुझी समाचारमा उल्लेखिक गैरकानूनी कृयाकलापमा मेरो तस्विरसहित संलग्नता रहेको भन्ने समाचारले मलाई अनर्गल आरोप लखित मेरो स्वाभिमान र अन्तस्करणमा गंभीर चोट पुर्याउने र मर्माहत गर्ने कार्य भएको छ ।

अन्यलाई आक्षेप लगाउन, मर्माहत गर्न र प्रतिष्ठालाई धुलिसात गराउने कार्य किमार्थ पनि नैतिकतापूर्ण र व्यवसायिक आचरणभित्र पर्दैन । व्यवसायिक मूल्य मान्यता, आचरणको सीमा नाघी वेलगाम सम्वाददातालाई एक नागरिकले आफ्नो तर्फबाट खेद प्रकट गर्नु मेरो कर्तव्य ठान्दछु । सत्य र वस्तुनिष्ठ समाचार प्रकाशित गर्ने उपस्थित पत्रकार समक्ष प्रस्तुत प्रेश विज्ञप्ती जारी गर्ने मेरो नैतिकतापूर्ण साहसले नै मेरो निर्दोषिता परिपुष्टी गर्ने मैले विश्वास लिएको छु ।

पत्रकारले चलाउने कलम अत्यन्त गंभीर विषय हो । समाचार माध्यमबाट समाज र सर्वसाधारण नागरिकले सत्य र वस्तुनिष्ठ समाचारको अपेक्षा गरेका हुन्छन् । पत्रकारको कलमले सत्यलाई छाँयामा पार्ने र आधारहिन र असत्य व्यहोरालाई प्रतिकलायक हुने गरी प्रकाशन गरिएमा पत्रकारले समाज, राष्ट्रप्रतिको कर्तव्यघात र आप्नै व्यवसायिक मर्यादा विपरित कार्य गरेको मानिन्छ । त्यसमा पनि व्यक्तिलाई गैरकानूनी कार्यमा संलग्न भएको बिनाआधार र प्रमाण आक्षेप लगाई समाचार दिइनु व्यवसायिक मर्यादाको घोर उल्लंघन र निन्दनीय कार्य हो । म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार वा प्रकाशन गर्ने मिडियाले यसबारे माफी नमागे र खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने यहाँहरुलाई यही पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन चाहन्छु ।


क्लिकमान्डु