सुन तस्करीमा म संलग्न छैन, पुष्टि भए कारबाही भोग्न तयार छु: दीपक मल्होत्रा



काठमाडौं । व्यवसायी दीपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नभएको बताएका छन् । व्यवसायी मल्होत्राले पत्रकार सम्मेलन गरी नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार गलत भएको दाबी गरेका हुन् ।

नयाँ पत्रिका दैनिक आज प्रकाशित समाचारमा बुधबार राजस्व अनुसन्धान विभागले सिनामंगलस्थित भन्सार कार्यालय बाहिरबाट नियन्त्रणमा लिएको सुन व्यवसायी मल्होत्राको हुनसक्ने आशंका गरिएको थियो ।

‘सुन तस्करीमा म संलग्न हुन सक्ने आशंका गर्दै मेरो तस्बिरसहित प्रकाशित समाचार कपोलकल्पित, भ्रामक र झुटा छ,´ उनले भने, ‘आजका दिनसम्म मैले कानुनविपरीत कुनै काम गरेको छैन । मैले र मेरो परिवारले सञ्चालन गरेका सबै संस्था कानुनअनुसार छन् ।´

नयाँ पत्रिका दैनिकले खण्डन छाप्दै माफी नमागे कानुनी उपचारमा जाने मलहोत्राले बताए । `म संलग्न नभएको विषयमा स्रोतलाई आधार मान्दै कपोलकल्पित समाचार प्रकाशित भएको छ,` उनले भने, ‘आजसम्म म कुनै पनि प्रकारका अवैध धन्दामा संलग्न थिइन । राज्यले सुन तस्करीमा मेरो संलग्नता पुष्टि गर्न सक्यो भने नेपालको कानुनअनुसार जुनसुकै सजाय भोग्न तयार छु ।’

सुन तस्करी गरिरहेका गिरोगले घटनाक्रमलाई डाइभर्ट गर्न आफ्नो नाम प्रकाशित गर्न लगाएको हुन सक्ने व्यवसायी मल्होत्राले बताए । `म भन्सारमा नगएको २५ वर्ष भयो, मैले कुनै कर्मचारीलाई चिनेको पनि छैन । आर्थिक मन्दीका कारण मिडियामा विज्ञापन दिन नसकेका कारण पनि मेरो पछि परेका हुन सक्छन्,´ उनले भने ।

चोरी तस्करी गरिरहेका व्यवसायीले मिडियालाई प्रयोग गर्दै आफूविरुद्ध गलत समाचार प्रकाशित गर्न लगाएको मल्होत्राको आशंका छ ।


क्लिकमान्डु