केडिया अर्गनाइजेसनको वृज सिमेन्टको व्यापार १९ प्रतिशतले घट्यो



काठमाडौं । केडिया अर्गनाइजेसनको वृज सिमेन्ट इन्डष्ट्रिजको व्यापार १९ प्रतिशतले घटेको छ । सन् २०२२ को १० महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा १९ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ को १० महिनाको अवधिमा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार सन् २०२२ को वार्षिक व्यापार गरेको तुलनामा सन् २०२३ को १० महिनाको अवधिमा १७ प्रतिशतले घटेको छ । आर्थिक मन्दीका कारण सिमेन्टको माग कम हुँदा व्यापारमा कमी आएको कम्पनीको भनाइ छ ।

कम्पनीले सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग दैनिक १२ सय टन  सिमेन्ट उत्पादन गर्ने क्षमता छ । कम्पनीमा पाँच जनाको स्वामित्व छ । जसमा केडिया अर्गनाइजेसनको ५० प्रतिशत हिस्सा छ भने बाँकी भारतीय कम्पनी शान्त सिमेन्ट प्रालिको छ । कम्पनीले ओपीसी सिमेन्ट दुई वटा ब्रान्डमा र पीपीसी सिमेन्ट पाँच वटा ब्रान्ड र पोर्टल्यान्ड स्ल्याग एउटा ब्रान्डमा उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड ७४ लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३३ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५७ करोड ३६ लाख रुपैयाँ रेटिङ गराएको छ । जसमा कम्पनीले लिएको ऋणलाई प्लेस्ड अन वाच विथ नेगेटिभ इप्लिकेसन रेटिङ दिइएको छ ।


क्लिकमान्डु