जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको राज ब्रुअरीले ९ महिनामा गर्‍यो साढे ७८ करोडको व्यापार



काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको राज ब्रुअरी प्रालिले ९ महिनामा साढे ७८ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ३ करोड ३० लाख, सन् २०२१ मा ६७ करोड ६० लाख, सन् २०२० मा २८ करोड ६० लाख र सन् २०१९ मा ४६ करोड रुपैयाँको व्यापार गरेको हो ।

चार दशकदेखि मदिरा उत्पादन तथा बिक्री गर्दै आएको जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गतको राज ब्रुअरी सन् २०१३ देखि सञ्चालनमा छ । कम्पनीले सन् २०२१ को मार्चदेखि बर्डवाइजर ब्रान्डको मदिरा बिक्री सुरु गरेको छ ।

कम्पनीले विभिन्न पाँच ब्रान्डमा बियर बिक्री गर्दै आएको छ । कम्पनीले दुई वटा ब्रान्ड विदेशी बर्डवाइजर र वार्सटेनर तथा तीनवटा ब्रान्ड स्वदेशी नमस्ते, माउन्टेन आइस र हात्ती ८ बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार विभिन्न पाँचवटा ब्रान्डमध्ये बर्डवाइजरबाट उच्च व्यापार भएको उल्लेख छ ।  

राजबहादुर शाहको स्वामित्व रहेको कम्पनीमा विजयकुमार शाह अध्यक्ष छन् । कम्पनीले युरोपियन, भारतीय र नेपाली सप्लायर्सबाट कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६० करोड ४९ लाख रुपैयाँको रेटिङ गराएको छ । जेजीआईको देशभर एक सय डिलर र वायरहाउस छन् ।


क्लिकमान्डु