आईपीओ जारी गर्ने तयारीमा रहेको ट्रेड टावरले गौशालामा टावर निर्माण गर्दै



काठमाडौं । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको ट्रेड टावर लिमिटेडले गौशालामा पनि वहुउदेश्यीय ट्रेड टावर निर्माण गर्ने भएको छ । कम्पनीले ६५ करोड लगानीमा गौशालामा ट्रेड टावर निर्माण गर्ने भएको हो ।

थापाथलीमा रहेको ट्रेड टावरले सन् २०२३ को ९ महिनाको अवधिमा ६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ८ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा ६ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ८ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००७ मा स्थापना भएको ट्रेड टावरले लिज, फाइनान्सिङ र पूर्वाधार विकासमा काम गर्दै आएको छ । उक्त ट्रेड टावरले गौशालामा पनि विभिन्न सुविधाको ट्रेड टावर निर्माण गरिरहेको छ । कम्पनीले नयाँ वर्षदेखि सञ्चालन गर्ने गरी व्यापार गर्न रिटेल स्पेस र होटलसहित टावर निर्माण गरिरहेको हो ।

कम्पनीमा ३८४ जनाको ७५ प्रतिशत स्वामित्व छ । बाँकी २५ प्रतिशत सर्वसाधारणका लागि आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको छ । कम्पनीका अध्यक्ष शिवहरी दंगाल हुन् । कम्पनीमा उनको २७ प्रतिशत हिस्सा छ ।

कम्पनीअनुसार गौशालामा बन्दै गरेको ट्रेड टावरको हालसम्ममा ७० प्रतिशत आर्थिक प्रगति भएको छ । कम्पनीले गौशालामा ६ वटा स्टोरे बिल्डिङ बनाइरहेको छ । जसमा कम्पनीले २ वटा फ्लोरमा होटल, रिटेल र अफिसका लागि ठाउँ निर्माण गर्नेछ ।
कम्पनीले ११ करोड ६० लाख रुपैयाँ आइपीओबाट लगानी गर्ने उल्लेख छ ।


क्लिकमान्डु