शारडा र राठी ग्रुपको तेल उद्यागले ६ महिनामा गर्‍यो साढे २ अर्ब बढीको व्यापार



काठमाडौं । पशुपति खाद्य तेल उद्योग प्रालिले ६ महिनाको अवधिमा साढे २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा २ अर्ब ५९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ, सन् २०२१ मा ४ अर्ब ६२ करोड २० लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ७ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ८३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले विभिन्न प्रकारका खाने तेल तथा वनस्पति घ्यू उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भटमास, सन्फ्लावर, पाम तेल र वनस्पति घ्यू पोस्टम्यान, हनुमान, हेल्लो र पशुपति ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

नन्दकुमार राठीको १३ प्रतिशत हिस्सा रहेको कम्पनीमा अन्य १९ जनाको स्वामित्व छ । जसमा शारडा र राठी परिवारका सदस्यहरु छन् । कम्पनीको अध्यक्ष श्रीनिवास शारडा हुन् ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । सन् २०२३ मा कम्पनीको निर्यात पनि घटेको उल्लेख छ । कम्पनीअनुसार सन् २०२२ को ६ महिनाको तुलनामा सन् २०२३ मा ३३ प्रतिशतले घटेको छ । साथै, सन् २०२२ मा वार्षिक निर्यात भएको हिस्साको तुलनामा ४२ प्रतिशतले घटेको छ ।

शारडा र राठी ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी तेल तथा घ्यू उत्पादन गर्दै आएको छ । कम्पनीले युक्रेन, टर्की र साउथ अमेरिकन देशहरुबाट कच्चा भटमास र सन्फ्लावर तेल आयात गर्दै आएको छ भने मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम तेल आयात गर्दै आएको छ ।


क्लिकमान्डु