दुई अर्ब लगानीमा महासंघका अध्यक्ष चन्द्र ढकालले मौलाकालिका केबलकारमा होटल बनाउने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दुई अर्ब बढी लगानीमा मौलाकालिका केबलकारसँगै होटल बनाउने भएका छन् ।

हालै मात्रै सञ्चालनमा आएको मौलाकालिका केबलकार कम्पनीमार्फत् चारतारे होटल निर्माण गरिने भएको हो ।

उक्त होटल निर्माण गर्न २ अर्ब ५ करोड ३० लाख खर्च हुने अनुमान कम्पनीले गरेको छ । उक्त होटल निर्माणका लागि कम्पनीले डेढ अर्ब ऋण लिने भएको छ ।

कम्पनीले रेटिङ गराएर १ अर्ब ५० करोड रुपैयाँ ऋण लिने भएको छ भने बाँकी लगानी कम्पनीले गर्नेछ । त्यसका लागि ७५ प्रतिशत ऋण लिने र २५ प्रतिशत कम्पनीले लगानी गर्ने उल्लेख गरेको छ । कम्पनीले डेढ अर्ब रुपैयाँ दीर्घकालीन कर्जा लिने भएको हो ।

नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको थियो ।

कम्पनीले केलबकारको सुविधासँगै होटल निर्माण गरी पर्यटकलाई आकर्षित गर्ने भएको छ । कम्पनीले उक्त होटल आगामी मार्च २०२५ सम्ममा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको स्वामित्व रहेको होटलमा ६० वटा कोठाको व्यवस्था हुनेछ । होटलको प्रतिकोठा निर्माण गर्न १ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

कम्पनी आइएमई ग्रुपद्वारा सञ्चालित कम्पनी हो । आइएमई ग्रुपले यसअघि पनि केबलकारको सुविधासँगै रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले चन्द्रगिरी हिल्स लिमिटेडकै मोडालिटीमा मौलाकालिका केबलकारमा होटल सञ्चालन गर्ने तयारी गरेको हो ।


क्लिकमान्डु