होटल मेची क्राउनले एकै वर्ष गर्‍यो साढे १८ करोड आम्दानी



काठमाडौं । भेगास सिटी इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित पाँचतारे होटल मेची क्राउनले एकै वर्ष साढे १८ करोड आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा १८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ करोड १८ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । सन् २०१४ मा स्थापना भएको भेगास कम्पनीले होटल मेची क्राउन ब्रान्डमा क्यासिनो रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

झापाको मेचीनगरमा रहेको होटल सन् २०२१ को जनवरीबाट १०५ क्षमताको कोठाको सुविधासहित सञ्चालनमा आएको थियो । होटल ५४ हजार स्क्वायर फिट (८ विगाहा) मा फैलिएको छ ।

त्यसैगरी, कम्पनीले थप एक सय कोठाको सुविधा दिने तयारी गरेको छ । कम्पनीअनुसार उक्त कोठाको निर्माण कार्य भइरहेको छ । सोही निर्माण कार्यलाई तीब्रता दिन कम्पनीले ऋण लिने भएको हो ।

होटलमा १०५ वटा कोठा छन् । बलराम सापकोटाको ४० प्रतिशत, पवित्रकुमार कार्कीको ३० प्रतिशत र क्षमादेवी इन्भेष्टमेन्ट प्रालिको १३ प्रतिशत हिस्सा छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १ करोड ९९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागिग ३ लाख रुपैयाँ रेटिङ गराएको छ ।


क्लिकमान्डु