ऋण एउटा बैंकमा, अर्कैमा कारोबार खाता



काठमाडौं । बजारमा आर्थिक गतिविधि घटेसँगै केही व्यवसायीहरुले ऋण खाता र कारोबार खाता छुट्टा छुट्टै बैंकबाट सञ्चालन गर्न थालेका छन् ।

विगतमा ऋण लिएकै बैंकबाट अन्य व्यवसायीक कारोबार गर्ने व्यवसायीले पछिल्लो समय व्यवसायबाट प्राप्त रकम जम्मा गर्न अर्को बैंकमा खाता सञ्चालन गरेका छन् ।

ऋण लिएको बैंकबाट व्यवसायीक कारोबार गर्दा खातामा भएको पैसाबाट बैंकले आफैं साँवा ब्याज काट्ने भएकाले कारोबार र ऋण खाता अलग अलग बैंकमा सञ्चालन गर्नु परेको एक व्यवसायी बताउँछन् ।

‘पहिला त्रैमाशको अन्त्यमा ब्याज मात्रै तिर्दा हुँन्थ्यो । अहिले बैंकले साँवा पनि तिर्न ताकेता गर्छन्,’ एक व्यवसायीले भने,‘अहिले बैंकबाट थप ऋण लिन पनि सजिलो छैन । कारोबार भएको सबै रकमबाट साँवा र ब्याज तिर्न भन्दा केही रकम बचाउन दुईवटा बैंकमा खाता खोलेका छौं ।’

एक बैंकका प्रमुख कार्यकारी अधिकृत पछिल्लोसमय राम्रो कारोबार गरिरहेका ग्राहकले पनि व्यापार नै छैन भन्ने देखाउने दुईवटा बैंकमा खाता सञ्चालन गरिरहेको बताउँछन् ।

‘अहिले पर्यटन क्षेत्र चलायमान भएको छ । प्राय होटल पूर्णक्षमतामा सञ्चालन भएका छन्,’ ती बैंकरले भने,‘व्यवसायीहरु होटलले कमाई नै गरेको छैन भन्ने देखाउन ऋण लिएको बैंकमा पैसा नै जम्मा गर्दैनन् । हाम्रो बैंकबाट ऋण लिएका एक व्यवसायीले दुईवटा खाता सञ्चालन गरेका छन् ।’

ऋण दिने बैंकको खातामा पैसा नै नराख्ने र ऋण नभएको बैंकमा कारोबार गरिएको सबै रकम राख्ने गरिएको बैंकरहरु बताउँछन् ।

‘कारोबार राम्रो भएका व्यवसायीहरु साँवा तिर्नु भन्दा थप जग्गा किन्ने सोचमा देखिन्छन्,’ ती बैंकरले भने,‘आफ्नो क्षमता भन्दा बढी ऋण लिँदा समस्यामा परिन्छ भन्ने अझै व्यवसायीले चेतेको देखिएन् । अझै पनि व्यवसायीमा साँवा भन्दा ब्याज मात्रै तिर्ने सोच छ ।’

बैंकरहरु पछिल्लो समय ठूला ऋणी भन्दा पनि ५ करोड भन्दा कम ऋण लिएका व्यवसायीहरु बढी समस्यामा परेको बताउँछन्।


क्लिकमान्डु