नेपालले ११ महिनामा निर्यात गर्‍यो सवा २ अर्बको चाउचाउ र पास्ता, अमेरिकादेखि अष्ट्रेलियासम्म निकासी



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २ अर्ब बढीको चाउचाउ तथा पास्ता निर्यात गरेको छ ।

नेपालले चालु आर्थिक वर्षको जेठसम्ममा २ अर्ब ११ करोड २४ लाख ४१ हजार रुपैयाँको ७२ लाख ३ हजार ४४५ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ ।

नेपालले गत वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपैयाँको निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा पास्ता तथा चाउचाउको निर्यात २६.९ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।

नेपालको पास्ता तथा चाउचाउ विशेषगरी भारतमा निर्यात हुँदै आएको छ । त्यसबाहेक अन्य तेस्रो मुलुकमा पनि नेपाली चाउचाउ तथा पास्ताको उच्च माग भएको देखिएको छ ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २ अर्ब बढीको चाउचाउ तथा पास्ता निर्यात गरेकोमा भारतमा मात्रै ९६ करोड ५५ लाख रुपैयाँको ५१ लाख २७ हजार केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ । भारतपछि चीनमा ५० करोड ९० लाख ९० हजार रुपैयाँको ६९ हजार केजी निर्यात भएको छ ।

त्यसबाहेक अष्ट्रेलिया र अमेरिकामा नेपाली चाउचाउ र पास्ता उच्च निर्यात हुँदै आएको छ । नेपालले ११ महिनाको अवधिमा २१ करोड ९९ लाख रुपैयाँको ६ लाख ६२ हजार केजी निर्यात गरेको छ ।

सो अवधिमा अमेरिकामा १८ करोड ५९ लाख रुपैयाँको ६ लाख २० हजार केजी निर्यात भएको छ । त्यस्तै, नेपालबाट ११ महिनाको अवधिमा ३९ लाख रुपैयाँको भुटान, १ करोड ४१ लाख रुपैयाँको क्यानाडा, ३३ लाख रुपैयाँको हङकङ, २ करोड ९६ लाख रुपैयाँको इटली चाउचाउ तथा पास्ता निर्यात भएको छ ।

त्यस्तै ८ करोड २५ लाख रुपैयाँको जापान, ४३ लाख रुपैयाँको दक्षिण कोरिया, २ करोड ७३ लाख रुपैयाँको मलेसिया, १० लाख रुपैयाँको माल्टा, ९९ लाख रुपैयाँको कतार, ३३ लाख रुपैयाँको सिंगापुर, १ करोड ३५ लाख रुपैयाँको युएई, २ करोड ९८ लाख रुपैयाँको बेलायत र ७१ लाख रुपैयाँको यमनमा निर्यात गरेका छन् ।


क्लिकमान्डु