बजेटमा हाम्रो गम्भीर असहमति छ: एमाले सचिव



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा गम्भिर असहमति रहेको बताएका छन् ।

प्रधानमन्त्री, अर्थमन्त्रीसहितका शक्तिशाली मन्त्रीहरुका लागि मात्रै बजेट विनियोजन गरिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको उनको तर्क थियो ।
सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘विनियोजन विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सचिव विष्टले विनियोजन विधेयक अत्यन्तै अन्यायपूर्ण, विभेदकारी रहेकाले आफूहरुले छलफल गर्न समेत नचाहेको बताए ।
उनले विनियोजन बजेट गरिब जनताको हित विपरित आएको जिकीर गरे ।

‘विनियोजन अत्यन्तै अन्यायपूर्ण, विभेदपूर्ण छ । जहाँजहाँ मन्त्रीहरु हुनुहुन्छ । खासगरी प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका शक्तिशाली मन्त्री, विनियोजन त्यहाँ छ । एक प्रकार भन्ने हो भने आफ्नो हात जगन्नाथ भन्ने एउटा उखान छ नि । त्यही प्रकारको स्थिति छ । माननीय सदस्यहरुको नाममा त उहाँले ५ करोड विनियोजन गर्नु भयो । तर अर्बौ रुपैयाँ प्रधानमन्त्री, अर्थमन्त्रीसहितका मन्त्रीहरुको क्षेत्रमा लैजानु भयो’ उखानको उदाहरण दिँदै उनले भने, ‘धानचामल धामीलाई, व्यथाजति हामीलाई । पैसा जति मन्त्रीहरुको आफ्नो ठाउँमा, बदनामी संसदलाई, सांसदहरुलाई । यो प्रकारको स्थिति यो विनियोजनले देखाएको छ ।’

सचिव विष्टले विनियोजन बजेटमा उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, मुलुकलाई समृद्ध बनाउने कुनै पनि खालको योजना नरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।


क्लिकमान्डु