अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार भएका दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायाँनाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन् ।
श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यसका लागि ३१ लाख लाग्ने, अमेरिका पुगेपछि मोबाइल सफ्टवेयर कम्पनीमा काम लगाइदिने तथा मासिक ३ लाख ५० हजार तलब हुन्छ भनेर विश्वास दिलाएका थिए ।
उनले पीडितबाट पटक–पटक गरी ६ लाख २१ हजार रकम लिएपछि सम्पर्कविहीन भई ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
यसैगरी, खड्काले कर्णबहादुर बुढासहित दुई जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने बताएका रकम असुली गरेका थिए ।
माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाई प्रलोभनमा पारी उनीहरुबाट पटक–पटक गरी ९ लाख रकम लिई सम्पर्कविहीनको आरोपमा आज काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।