होटल क्राउन इम्पेरियलले अझै कमाउन सकेन नाफा, साढे ६ करोडको व्यापार



काठमाडौं । अर्चिड होल्डिङ लिमिटेडले सञ्चालन गर्दै आएको चारतारे होटल, होटल क्राउन इम्पेरियलले हालसम्म नाफा कमाउन सकेको छैन । सन् २०१९ मा काठमाडौं रविभवनमा होटल क्राउन इम्पेरियल ब्रान्डमा सञ्चालन भएको होटलले हालसम्म नाफा कमाउन नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२२ मा ६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा २ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२२ मा सन् २०२१ को तुलनामा १९४ प्रतिशतले व्यापार बढेको जनाएको छ ।

सन् २०२२ मा ६ करोड कारोबार गरे पनि होटल भने घाटामा छ । सन् २०२२ मा १ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको कम्पनीले जनाएको छ ।
होटलको सञ्चालन खर्च बढी हुँदा नाफा हुन नसकेको हो ।

कम्पनीअनुसार सन् २०२२ मा मिटिङ, कन्फरेन्स र प्रदर्शनीलगायतका कार्यक्रम भएकाले उक्त क्षेत्रबाट ७२ प्रतिशत आम्दानी भएको छ भने २८ प्रतिशत आम्दानी कोठाको बुकिङबाट भएको छ ।

तर, सन् २०२३ मा भने व्यापारमा सुधार आएको उल्लेख छ । सन् २०२३ को ७ महिनाको अवधिमा १३ करोड ७० लाख रुपैयाँमा आम्दानी भएको कम्पनीको भनाइ छ । सन् २०२३ मा पर्यटकको आगमन बढ्दा कम्पनीको व्यापार २१ प्रतिशतले बढेको जनाएको छ ।

कोभिड–१९ ले पर्यटन क्षेत्रको उच्च प्रभाव परेको थियो । तर, कोभिडको संक्रमण घट्दै गएपछि व्यापारमा पनि सुधार हुँदै गएको कम्पनीको भनाइ छ । नेपाल पर्यटन बोर्डअनुसार सन् २०२३ को ४ महिनाको अवधिमा नेपालमा ३ लाख २६ हजार ५२८ जना पर्यटक नेपाल आएका छन् । पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रको व्यापारमा सुधार आउने कम्पनीको विश्वास छ ।

होटलमा खाद्यान्न तथा पेयपदार्थ, स्वीमिङ पुल, कन्फरेन्स र ब्याङ्क्वेट, हेल्थ सुविधा, सपिङ अर्केड र अन्य सुविधाको व्यवस्था छ । सुधिरमान मास्के प्रबन्ध निर्देशक रहेको कम्पनी सन् २०२२ मा पब्लिक लिमिटेडमा परिणत गरेको थियो । ९ हजार १३६ स्क्यारफिट क्षेत्रफलमा फैलिएको होटलमा १३१ वटा कोठाको व्यवस्था छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्बको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ९५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु