नक्काली भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष मियाँ सिंहदरबारबाट पक्राउ



फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

प्रहरीले मियाँलाई बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले गृह मन्त्रालयकै एउटा गाडी बरामद गरेको थियो । उक्त प्रकरणमा मानिसहरूसँग पैसा उठाउन र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको उक्त गाडी पटकपटक प्रयोग गरेको भेटिएको प्रहरीले जनाएको छ ।

उक्त गाडी प्रयोग गरी गिरोहका सदस्यहरु चितवन पुगेका थिए । गृहमन्त्रालयबाट नै प्रकृया अघि बढेको देखाउनका लागि सरकारी गाडीको प्रयोग भएको पाइएपछि प्रहरीले उक्त गाडको बारेमा खोजी गरेको थियो ।

उक्त गाडी गृह मन्त्रालय अन्तर्गतको हज समिति भएको तथ्य फेला परेपछि प्रहरीले अध्यक्ष मियाँमाथि निगरानी गरिरहेको थियो।

हज समितिले नेपाली मुसलमानहरूलाई हज गर्न साउदी अरेबिया लैजाने व्यवस्था गर्ने गरेको छ ।

मियाँ पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका उच्चपदस्थहरुसमेत पक्राउ परेका छन् ।


क्लिकमान्डु