शारडा ग्रुपको न्युट्री फुडले एकै वर्ष गर्‍‍यो सवा एक अर्बको व्यापार



काठमाडौं । शारडा ग्रुपको न्युट्री फुडले एकै वर्ष १ अर्ब २९ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब बढी व्यापार गरेको हो ।

कम्पनीले सन् २०१९ मा ९८ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ४४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा २८ प्रतिशतले व्यापार घटेको छ ।

तर, कम्पनीको व्यापार यो वर्ष भने ३५ प्रतिशतले बढेको छ । कम्पनीअनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १ अर्ब १६ करोड ५० लाख रुपैयाँको व्यापार भएको छ ।

कम्पनीले सन् २०२२ मा ७.२१ प्रतिशत नाफा कमाएको छ । कम्पनीले आम्दानी गरेकोमध्ये ७५ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको छ ।

सन् २००१ देखि श्रीनिवास शारडा र अनुपम राठीले साझेदारीमा कम्पनी सञ्चालन हुँदै आएको छ । शारडा ग्रुपद्वारा सञ्चालित कम्पनीले सुपरम्यान, फारच्यून र एंकोर ब्रान्डमा विभिन्न प्रकारका खाद्यान्न र न्यूट्रिल्याक ब्रान्डको बालबालिकाको खाद्यान्न बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा खाद्यान्न उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दैनिक १५० मेट्रिक टन फ्लोर, ३० मेट्रिक टन लिटो र २४ मेट्रिक टन दाल सेग्मेन्टमा उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु