सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी को तयारी पूरा



चितवन । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुऱ्याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो । औद्योगिक प्रदर्शनी वैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुन गइरहेको हो ।

प्रदर्शनी चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युट्रेक्स ट्रेड फेयर एण्ड इभिन्टको व्यवस्थापकीय साझेदारी र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाहरुको प्रबर्द्धन सहयोगमा हुन लागेको हो ।

औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी हुने औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएका छन् । केही स्टल बैशाख २१ गतेसम्म बुकिङ गर्न सकिनेछ ।

प्रदर्शनी अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ । उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रदर्शनी रहेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूकाबीच प्रत्यक्ष भेटघाट तथा छलफल भई औद्यागिक अनुभव तथा ज्ञान आदान प्रदान समेत हुनेछ ।


क्लिकमान्डु