उपचार गर्दा लागेको खर्च राष्ट्रपति पौडेलले आफैं बेहोर्ने
काठमाडौं । आफ्नो उपचारका क्रममा भएको खर्च राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले व्यहोर्ने भएका छन् ।
भारतमा उपचारका लागि गएका राष्ट्रपति पौडेलले देशको ढुकुटीबाट खर्च गरेको भन्दै आलोचना भइरहँदा आफ्नो उपचारमा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जनाएका छन् ।
पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उपचार भएको थियो ।
‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ’ संयोजक कार्कीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
उपचारका लागि वैशाख ६ गते भारत गएका पौडेल अस्पतालबाट डिस्चार्जपछि १७ गते राति स्वदेश फर्किएका थिए ।